किसानहरुलाई आधुनिक उपकरण
बिदुर – किसानहरुलाई आधुनिाक खेति प्रणालीतर्फ आकर्षित गराउने उद्धेश्यले नुवाकोटको बिदुरमा किसानहरुलाई आधुनिक उपकरण प्रदान गरिएको छ । अनुदानमा किसानहरुलाई हाते ट्रयाक्टर प्रदान गरिएको हो । विदुर नगरपालिकाले कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण तथा यान्त्रिकीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले बिदुर नगरभित्र विभिन्न स्थानमा कृषि व्यवसाय तथा उद्यम सञ्चालन गरिरहेका किसानहरूलाई अनुदानमा ट्याक्टर उपलब्ध गराएको हो ।

यस कार्यक्रम अन्तर्गत विदुर नपाको ५० प्रतिशत अनुदान तथा लाभग्राही किसानहरूको ५० प्रतिशत लागत साझेदारी रहने गरी ट्रयाक्टर हस्तान्तरण गरिएको हो । मेयर राजन श्रेष्ठले कार्यक्रमकाबीच लाभग्राही किसानहरूलाई हाते ट्रयाक्टर हस्तान्तरण गरेका हुन् । उनले यस कार्यक्रमबाट कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्नुका साथै उत्पादन लागतमा कमी, उत्पादकत्वमा वृद्धि तथा किसानहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको वताए ।

यसैवीच, बिदुर नपाले निर्माण कार्यको गुणस्तर परीक्षण तथा पूर्वाधारको मर्मत–सम्भारलाई थप प्रभावकारी, विश्वसनीय र प्रविधिमैत्री बनाउने उद्देश्यले कंक्रिट कोर ड्रिलिङ मेसिन खरिद भित्राएको छ । उक्त मेसिनको सफल परीक्षण सम्पन्न भएको बिदुर नपाले जनाएको छ ।

सो मेसिनको उपभोगबाट विशेषतः कंक्रिट संरचना तथा पक्की सडकबाट कोर नमूना संकलन गरी निर्माण कार्यको गुणस्तर परीक्षण गर्न सकिनेछ । यस प्रविधिले निर्माण कार्यको गुणस्तर मूल्याङ्कनलाई थप वैज्ञानिक, विश्वसनीय र प्रभावकारी बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको मेयर राजन श्रेष्ठको भनाई छ ।















































