बोर्डको २६औँ वार्षिकोत्सवमा विभिन्न कार्यक्रम
बिदुर – चलचित्र विकास बोर्डले अग्रज, समकालीन, उदीयमान तथा नवप्रतिभा कलाकारहरुलाई एकैस्थान जमघट गराएको छ । बोर्डको २६औँ वार्षिकोत्सवका अवसरमा गरिएको सम्मान, पुस्तक विमोचन तथा नयाँ कार्य सिनेपाको सुभारम्भका अवसरमा उक्त जमघट भएको हो । वोर्डको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा चलचित्र क्षेत्रका अग्रज, समकालीन, उदीयमान र नवप्रतिभा कलाकारलाई एउटै मञ्चमा सम्मानित तथा कदर गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कलाकारहरुलाई सम्मान तथा कदरपका साथै कलाकारहरुलाई पुरस्कृतसमेत गरेका हुन् ।

मन्त्रि डा. तिमिल्सिनाले चलचित्र क्षेत्रले नेपालको मौलिकता र कला क्षेत्रको उत्थान गरिरहेकोसमेत वताए । उनले कला क्षेत्रको प्रवद्र्धनका लागि मन्त्रालयले आवस्यक कार्य गर्नेसमेत वताए । सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताउँदै चलचित्र क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको धारणा राखे । उनले चलचित्र विकास बोर्डलाई चलचित्र उद्योगको अभिभावकीय संस्थाका रूपमा अझ प्रभावकारी र परिणाममुखी भूमिका निर्वाह गर्न आग्रह गरे ।

निर्माणाधीन चलचित्रसम्बन्धी कानुन तथा नीतिमा चलचित्रकर्मीको सुझाव समेटिनुपर्नेमा पनि उनले जोड दिए । नेपालको कला, संस्कृति तथा पहिचानको प्रवद्र्धनमा जोड दिन उनले आग्रह गरे । कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले बोर्डले गरेको कार्यहरुको प्रशंसा गरिन् । उनले नेपाल चिनाउने र नेपालको मौलिकताको संरक्षण र सम्वद्र्धनमा कलाकारहरुले योगदान पु¥याइरहेकोमा आभार व्यक्त गरिन् ।

बोर्डका अध्यक्ष दिनेश डिसीले कलाकार, कलाकारिताको सम्वृद्धि, स्तथर विकास तथा परिवर्तनको पक्षमा वोर्डले विभिन्न गतिविधिहरु गरिरहेकोसमेत वताए । बोर्डले चलचित्र क्षेत्रको संस्थागत विकास, अभिलेखीकरण, प्रोत्साहन, प्रविधिमैत्री सेवा र चलचित्रकर्मीको सम्मानलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।कार्यक्रमकै विशेष आकर्षणका रूपमा ‘सिनेपा’ एपसार्वजनिक गरिएको छ । नेपाली चलचित्र क्षेत्रलाई सूचना, अभिलेख, प्रवद्र्धन र पहुँचका हिसाबले डिजिटल युगसँग जोड्ने उद्देश्यले तयार गरिएको उक्त एपको उद्घाटन मन्त्री डा. तिमिल्सिनाले गरेका हुन् ।

बोर्डले आफ्ना वार्षिक गतिविधि समेटिएको प्रकाशन “शब्दचित्रमा चलचित्र बोर्डको गतिविधि“ तथा ‘सिनेपाः’ पुस्तक विमोचन पनि गरेको छ । नेपाली चलचित्रको दस्तावेजीकरण, संस्थागत स्मृति संरक्षण र अध्ययन–अनुसन्धानका लागि यस्ता प्रकाशनहरू महत्त्वपूर्ण हुने विश्वास बोर्डले लिएको बोर्डका सदस्य–सचिव राजेशकुमार थापाले स्वताए । वार्षिकोत्सव समारोहमा बोर्डका दुई कर्मचारीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । साथै, स्टोरी बोर्डबाट छनौट भएको चलचित्र ‘सुरिलो रुख’ लाई निर्माण सहायतास्वरूप चार लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

बोर्डले सिर्जनात्मक र नयाँ पुस्ताका परियोजनालाई प्रोत्साहित गर्ने नीतिअनुसार यस्तो सहयोगलाई निरन्तरता दिने बोर्डले जनाएको छ । कार्यक्रममा अर्को उल्लेखनीय पक्षका रूपमा चलचित्र विकास बोर्ड स्थापना यता २६ वर्षको अवधिमा ७ करोड रुपैयाँभन्दा बढी व्यापार गरेका ३१ नेपाली चलचित्रहरूको नामावली सार्वजनिक गरिएको थियो । बोर्डका अनुसार यस्तो सूचीले नेपाली चलचित्र उद्योगको व्यावसायिक विकास, बजारको विस्तार तथा दर्शकसँगको सम्बन्धलाई अभिलेखीकरण गर्ने काम गर्नेछ । सार्वजनिक सूचीमा ‘पूर्णबहादुरको सारङ्गी’, ‘कबड्डी ४’, ‘१२ गाउँ’, ‘जारी’, ‘छक्का पन्जा’ श्रृंखला, ‘महाजात्रा’, ‘प्रेमगीत ३’, ‘पुजार सार्की’, ‘महापुरुष’ लगायतका सफल चलचित्रहरू समेटिएका छन् ।

समारोहमा राष्ट्रिय चलचित्र पुरस्कार निर्णायक समितिका पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । यसका साथै, राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा छुटेका केही सम्मानहरू पनि प्रदान गरिएको कार्यक्रम तालिकामा उल्लेख छ । वार्षिकोत्सवको अर्को आकर्षक पक्ष चलचित्रकर्मी सम्मान कार्यक्रम गरिएको छ । २५ वर्षभित्र विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका चलचित्रकर्मीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो । सम्मानित हुनेहरूमा निशा अधिकारी, अर्जुन कार्की, कविता नेपाली, रोजिता बुद्धाचार्य तथा मेकअप आर्टिस्ट निलम पौडेल रहेका छन् । चलचित्र क्षेत्रले सिर्जनासँगै साहस, अनुशासन र प्रेरणाको उदाहरण पनि स्थापित गरेको सन्देश यस सम्मानमार्फत दिइएको बोर्डले जनाएको छ ।

यस्तै, लघु चलचित्र र वृत्तचित्र प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो । बोर्डले यस्ता प्रतियोगिताले वैकल्पिक कथा, भाषिक विविधता र मौलिक विषयवस्तु भएका सिर्जनालाई प्रेरणा दिने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा बोर्डले विशिष्ट, विशेष तथा चलचित्रकर्मी श्रेणीका परिचयपत्र वितरण गरेको छ । विशिष्ट श्रेणीमा ऋषि लामिछाने, गोविन्द राई, बाबुसाहेब बलामी, विनोदकुमार भट्टराई र विनोदप्रसाद मानन्धर सम्मानित भएका छन् । विशेष श्रेणीमा दयाहाङ राई, दीपेन्द्र के खनाल, उपासना सिंह, रेखा शर्मा, खगेन्द्रप्रसाद लामिछाने, प्रदीप भट्टराई, पुष्प खड्का, विजय बराल, बेनिशा हमाल, रोजिना सिटौला, विपिन कार्की र सुरक्षा पन्तलगायतका स्रष्टालाई परिचयपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी चलचित्रकर्मी श्रेणीअन्तर्गत कलाकार, लेखक, निर्देशक, प्राविधिक तथा वितरक क्षेत्रका व्यक्तित्वहरूलाई समेत परिचयपत्र वितरण गरिएको थियो ।जसअन्र्तगत अंशु महर्जन, रामजी लामिछाने, अर्जुन गुरुङ, गजितवहादुर विष्ट, देवचन्द्र भट्ट, प्रदीप पाठकलगायत १३ जना कलाकारहरुले चलचित्रकर्मी परिचय पत्र प्राप्त गरेका हुन् । कार्यक्रममा मन्त्रालयका अधिकारीहरू, बोर्डका पदाधिकारीहरू, केन्द्रीय चलचित्र जाँच समितिका प्रतिनिधिहरू, चलचित्रसम्बद्ध १४ वटा संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, कलाकार, निर्माता, निर्देशक, पत्रकार र अन्य चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो ।

यसअघि वार्षिकोत्सवकै अवसरमा बोर्डले मृगस्थलीमा वृक्षरोपण तथा बोर्ड परिसरमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो । यसले बोर्डले आफ्नो वार्षिकोत्सवलाई औपचारिक समारोहमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण र मानवीय सेवासँग पनि जोडेको बोर्डका सदस्य वीरेन्द्रप्रसद भट्टको भनाई छ ।
कार्यक्रमको समापन गर्दै बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रलाई नीतिगत, संस्थागत र व्यावसायिक रूपमा सुदृढ बनाउन बोर्ड प्रतिबद्ध रहेको बताए । उनले डिजिटल रूपान्तरण, चलचित्रकर्मीको सम्मान, नेपाली चलचित्रको अभिलेखीकरण, सफल चलचित्रको तथ्यांक संकलन र सिर्जनात्मक परियोजनाको प्रवद्र्धनलाई आगामी प्राथमिकताका रूपमा अघि बढाइने वताए ।

चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सवले एकातिर चलचित्र क्षेत्रका अग्रज, समकालीन, उदीयमान, नवप्रतिभा कलाकारहरुलाई एउटै मञ्चमा सम्मानित गरेको छ । चलचित्र दक्षतामा जोड दिइरहेको बोर्डले नयाँ प्रविधि, नयाँ सोच र नयाँ पुस्तालाई समेत जोड्ने कार्य गरिरहेको छ ।























































































































