बिदुरमा पित्रृ मोक्षधामको भवन निर्माण
बिदुर – सर्वसाधारणको सुविधाका लागि नुवाकोटको बिदुरमा धार्मिक भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको विद्यिपुर्वक उद्घाटन गरिएको छ । बिदुर नगरपालिका २ विदुरमा रहेको बिदुर “पितृ मोक्षधाम किरियापुत्री कल्याणकारी संस्था“ को नवनिर्मित भवन उद्घाटन गरिएको हो ।

हलसहित आठ कोठा रहेको उक्त भवन दुई तल्लाको रहेको छ । कुल ७० लाखको लागतमा उक्त भवनको निर्माण गरिएको “पितृ मोक्षधाम किरियापुत्री कल्याणकारी संस्था“ का अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार उक्त भवन विशेष गरि किरियाकर्मका लागि उपभोग गरिनेछ ।

उक्त भवनका विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे । उनले धार्मिक सामुदायिक भवनको निर्माणले आम सर्वसाधारणलाई सुविधा पुगेको र यसको सदुपयोग गर्न आग्रह गरे । सोही कार्यक्रममा पन्चकन्या गापाका अध्यक्ष तेजवहादुर तामाङ रमेशले किरियापुत्री भवनको निर्माणले उक्त कर्मका लागि सुविधा पुगेको र यसको संरक्षणमा जोड दिन आग्रह गरे ।

बिदुर नपाकी उपमेयर प्रभा बोगटी, विदुर नपा १ का वडाध्यक्ष लेनिन रन्जित, बिदुर २ का वडाध्यक्ष दीपक कायस्थ, बिदुर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, बिदुर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसे तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि र संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । उक्त भवन निर्माणका लागि संस्थालाई नगद तथा जिन्सी सहयोग गरेका विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको छ । साथै, सहयोगीदाताहरूको नाम शिलालेखमा राखिएको छ ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका उपसभापति कृष्णलाल श्रेष्ठ, कांग्रेस नुवाकोटका उपसभापति राजु थापा, एमाले बिदुर नगर अध्यक्ष सन्जिवहादुर श्रेष्ठ, राप्रपाका अध्यक्ष कुलवहादुर खड्गीलगायतले सामाजिक, धार्मिक तथा सांस्कृतिक पहिचान नेपालीको मौलिकता भएको र यसको संरक्षण गरिनुपर्नेमा जोड दिए ।






















































