छायांकनको तयारीमा कंगाल करोडपति

– नुवाकोटको विभिन्न स्थानमा छायांकन हुने
लोकखवर मनोरन्जन संवाददाता
२०८३ असार ३०, मंगलवार ००:२०

बिदुर – छायांकनको तयारीमा चलचित्र ’कंगाल करोडपति’ पुगेको छ । उक्त चलचित्र नुवाकोटका विभिन्न स्थानका साथै काठमाडौंमा छायांकन गरिने भएको छ । यस चलचित्रमा मुकुन भुषाल, सलिना तामाङ, रेयर राइलगायत चर्चित कलाकारहरुको अभिनय रहनेछ । यस चलचित्रवाटै कलाकार सलिना तामाङले डेब्यु गर्दैछिन् ।

विशेष तयारीका साथ आफ्नो प्रभावशाली टिम बोकेर छांयांकनको तयारीमा निर्माण पक्ष जुटेको छ । यस चलचित्रवाटै नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहार सलिना तामाङको औपचारिक आगमन हुने निर्देशक राजु श्रेष्ठले जानकारी दिए । कंगाल करोडपतिमा तामाङ मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन् । चलचित्रमा उनले पहिलो पटक चर्चित अभिनेता मुकुन भुसालसँग जोडी बाँड्नेछिन् ।

निर्माण टिमले सलिनासँग औपचारिक सम्झौता सम्पन्न भएको जानकारी दिएको छ । अभिनय क्षेत्रमा लामो तयारीपछि उनले कंगाल करोडपति चलचित्रबाट आफ्नो करिअरको नयाँ अध्याय सुरु गर्न लागेकी हुन् । निर्माण पक्षका अनुसार उनको अभिनयमा ताजापन, आत्मविश्वास र अभिनयप्रतिको समर्पणले चलचित्रलाई थप आकर्षक बनाउने विश्वास लिइएको छ ।

आफ्नो पहिलो नेपाली चलचित्रबारे उत्साह व्यक्त गर्दै सलिनाले ’कंगाल करोडपति’ आफ्ना लागि सपनाको सुरुवात भएको बताएकी छन् । दर्शकले आफ्नो अभिनयलाई आत्मीयतापूर्वक स्वीकार गर्ने विश्वास व्यक्त गर्दै उनले उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाएकी छन् । सलिनाले भारतको मुम्बईस्थित दि एक्टर्स ट्रथ अभिनय संस्थाबाट बलिउडका चर्चित अभिनेता तथा अभिनय प्रशिक्षक सौरभ सचदेवासँग अभिनय प्रशिक्षण लिएकी हुन् ।

एनिमललगायत चर्चित हिन्दी चलचित्रमा अभिनय गरिसकेका सचदेवाको प्रशिक्षणले सलिनाको अभिनय यात्रालाई थप मजबुत बनाएको निर्माण टिमको विश्वास छ । पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको कंगाल करोडपतिका प्रस्तुतकर्ता प्रविन आचार्य हुन् । यसको निर्माता अनीलकुमार बुढाथोकी रहेका छन् ।सहनिर्मातामा छिरिङ तामाङ, प्रबिन राई र प्रवेश सापकोटा, अस्वीन बराल आबद्ध छन् । रिता श्रेष्ठतामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा रहेका छन् ।

चलचित्रको कथा सुमन गजमेरले लेखेका हुन् । निर्माण पक्षका अनुसार प्रमुख कलाकारको छनोट सम्पन्न भइसकेको छ भने अन्य कलाकारका लागि छिट्टै अडिसन खुला गरिनेछ । उक्त चलचित्र नुवाकोटको प्रसिद्ध देवीघाट, बिदुर, बट्टार, त्रिशूली, चारघरे, साततले दरवार परिसरलगायतका स्थानमा छायांकन गरिनेछ । नयाँ प्रतिभा र अनुभवी टिमको संयोजनमा निर्माण हुन लागेको ’कंगाल करोडपति’ अहिले नै नेपाली चलचित्र बजारमा प्रतिक्षित परियोजनामध्ये विशेष बनेको निर्माण पक्षको दावी छ ।

राजु श्रेष्ठद्वारा निर्देशित चलचित्र ’कंगाल करोडपति’मा अभिनेता मुकुन भुषाल, रेयर राईलगायतका कलाकारहरु धमाधम अनुवन्धित भएका छन् । निर्माण पक्षले भुषाल, रेयरलाई चलचित्रको महत्वपूर्ण भूमिकाका लागि अनुवन्ध गरेको जनाएको छ । चलचित्र ’कंगाल करोडपति’मा यसअघि नै अभिनेता मुकुन भुषाल तथा नव नायिका सलिना तामाङ अनुवन्धित भइसकेका छन् । यस चलचित्रको निर्माण टोलीले अन्य कलाकार तथा छायांकनसम्बन्धी थप विवरण केही दिनभित्र सार्वजनिक गर्ने जनाएको छ ।


सर्वाधिक रुचाइएको