उपभोक्ता सचेतना सम्वन्धि कार्यक्रम

– स्थानीय तह व्यवसायमैत्री भएको दावी
लोकखबर
२०८३ असार ३०, मंगलवार ००:३१

बिदुर – नुवाकोटको बिदुरमा उपभोक्ता सचेतना सम्बन्धि कार्यक्रम गरिएको छ । स्थानीय तहसंग गरिएको उक्त कार्यक्रममा स्थानीय तह व्यवसायमैत्री भएको जनाइएको छ । उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटको आयोजनामा उद्योग तथा वाणिज्य प्रशासन एवं नियमन तथा उपभोक्ता सचेतना सम्बन्धी स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

‘औद्योगिक वातावरणको सुधार ः दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नारासहित सन्चालित कार्यक्रममा विदुर नगरपालिकाका जनप्रतिनिधिहरु, प्रमुख कर्मचारीहरू, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।   कार्यक्रममा उद्योग दर्ता, नवीकरण, उपभोक्ता अधिकार, व्यवसाय सञ्चालन, कर प्रणाली, स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय तथा औद्योगिक वातावरण सुधारका विषयमा छलफल गरिएको उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख सीताराम घिमिरेको भनाई छ ।

अन्र्तक्रियामा सहभागीहरूले व्यवसाय दर्ता, नवीकरण तथा कर प्रणाली अझै जटिल रहेको, एउटै व्यवसायका लागि वडा, पालिका, उद्योग तथा वाणिज्य कार्यालयलगायत विभिन्न निकायमा धाउनुपर्ने अवस्था रहेको जनाउंदै ‘एकद्वार प्रणाली’ लागू गर्नुपर्ने सुझाव दिएका थिए ।  सहभागीहरुले   दोहोरो कर हटाउन, प्रक्रियागत झन्झट अन्त्य तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारका सबै तहले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नगरमा औद्योगिक वातावरण सुधार गरेर  दिगो अर्थतन्त्र निर्माण सम्भव हुने बताए ।

उद्योग, व्यापार र लगानी फस्टाए मात्रै स्थानीय अर्थतन्त्र बलियो हुने भएकाले उद्यमी–व्यवसायीलाई सहज रूपमा व्यवसाय गर्ने वातावरण तयार गर्नु मुख्य आवश्यकता भएको वताउंदै मेयर श्रेष्ठले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय तथा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढे मात्रै आर्थिक विकासले गति लिने वताए । मेयर श्रेष्ठले निजी क्षेत्र अनुशासित, मर्यादित र कानुनसम्मत ढंगले सञ्चालन हुनुपर्ने बताउँदै जिम्मेवार व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्ने वताउंदै सार्वजनिक–निजी साझेदारीको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके आर्थिक गतिविधि विस्तार हुने, रोजगारी सिर्जना हुने र युवालाई विदेशिनुपर्ने बाध्यता क्रमशः घट्दै जाने वताए ।

कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख सीताराम घिमिरेले उद्योग, व्यापार र उपभोक्ता अधिकारसम्बन्धि विषयमा स्थानीय तहसँग समन्वय बढाउने उद्धेश्यले सन्चालित कार्यक्रमले उद्योग प्रशासनलाई सरल, पारदर्शी र प्रभावकारी बनाउने तथा उपभोक्ताको अधिकार संरक्षणलाई थप मजबुत बनाउने उद्देश्यले कार्यालयले निरन्तर काम गरिरहेको बताए ।  स्थानीय तहबाट आएका सुझावलाई प्रदेश सरकारसम्म पु¥याएर नीतिगत सुधारका लागि पहल हुने उनले विश्वास व्यक्त गरे । विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले स्थानीय सरकार र उद्योग तथा वाणिज्य कार्यालयबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।

व्यवसाय दर्ता, नियमन, उपभोक्ता संरक्षण तथा सेवा प्रवाहलाई प्रविधिमैत्री र सहज बनाउन नगरपालिका प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।  पौडेलले स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रबीचको समन्वयबाट मात्रै उद्योग तथा व्यापार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताउँदै व्यवसायीका गुनासा समाधान गर्दै सेवा प्रवाहलाई छिटो, सरल र पारदर्शी बनाउने दिशामा नगरपालिका निरन्तर काम गरिरहेको बताए । सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय सदस्य गीता अमात्यले उद्योगी तथा व्यवसायीले भोगिरहेका व्यवहारिक समस्या सम्बन्धित कार्यालयहरूले समयमै सम्बोधन गर्नुपर्ने बताइन् ।

व्यवसाय सञ्चालन प्रक्रियालाई सरल बनाउँदै दोहोरो झन्झट हटाउन सके मात्रै निजी क्षेत्र थप उत्साहित हुने र स्थानीय अर्थतन्त्रलाई बल पुग्ने उनको धारणा छ । कार्यक्रममा उद्योग, व्यापार, उपभोक्ता संरक्षण, व्यवसाय दर्ता तथा नियमनका विषयमा सहभागीहरूले दिएका सुझाव संकलन गरिएको थियो ।  उद्योग तथा वाणिज्य कार्यालयले यस्ता अन्तरक्रिया कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्दै स्थानीय तहसँगको सहकार्यलाई अझ सुदृढ बनाउने जनाएको छ ।


सर्वाधिक रुचाइएको