भवनका लागि जग्गा प्राप्ति

– लिखु गापाको भवन बन्ने
लोकखबर
२०८३ श्रावण ७, बिहीबार १५:१३

बिदुर  – नौ बर्षपछि नुवाकोटको लिखु गाउंपालिकाले भवन निर्माणका लागि जग्गा प्राप्ति गरेको छ । अधिकार सम्पन्न स्थानीय तह भएको झण्डै एक दशकमा सो गापाले आफ्नो भवन निर्माणका लागि जग्गा प्राप्त गरेको हो । लिखु गापा ४ चौघडामा रहेको सरकारी जग्गा सो गाउँपालिकालाई प्रशासकीय भवन निर्माणका लागि प्राप्त भएको हो ।

 

भूमि प्रशासन कार्यालय, नुवाकोटले जिल्ला स्तरीय सिफारिस समितिको निर्णयअनुसार लिखु गापालाई प्रशासकीय भवन निर्माणका लागि ६ रोपनी ५ आना १ पैसा ३ दाम सरकारी जग्गा उपयोग गर्न प्रमाणपत्र प्रदान गरेको छ । जग्गा उपभोगको प्रमाणपत्र लिखु गापा अध्यक्ष ध्रुव श्रेष्ठलाई भूमी प्रशासन कार्यालय नुवाकोटका प्रमुख भुमि प्रशासन अधिकृत धर्मराज रोकायाले प्रदान गरे । जग्गाको उद्धेशय वेगर अन्य कार्यमा उपभोग गर्न नपाइने, जग्गाको उचित संरक्षण र सम्वद्र्धन हुनुपर्ने, कुनै नाफामुलक वा व्यवसायमुलक कार्यमा लगाउन नपाइने र ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको स्थलहरुको मौलिकतामा असर नपर्ने गरि उपभोग गर्नुपर्ने प्रावधान रहेको छ ।

जग्गा प्राप्ति भएसगै नयाँ भवन निर्माण सुरु गर्न बाटो खुला भएको लिखु गापा अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए । प्राप्ती भएको जग्गा लिखु गापाा–४ (साविक चौघडा–८) मा रहेको छ । लिखु गापाले अब सोही स्थानमा आफ्नै प्रशासकीय भवन निर्माण प्रक्रिया अघि बढाउन सुरु गर्ने उपाध्यक्ष सुभद्रा अधिकारीले जानकारी दिइन् । हाल लिखु गापा. ३ भलादमी डाँडाबाट सञ्चालन हुँदै आएका लिखु गापाको कार्यालय तथा सेवाहरू निकट भविष्यमा आफ्नै भवनबाट सञ्चालन हुने भएपछि सेवा प्रवाह अझ व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टको भनाई छ ।

वर्षौंदेखि आफ्नै प्रशासकीय भवनको अभाव झेल्दै आएको लिखु गापाका लागि यो जग्गा प्राप्ति महत्त्वपूर्ण उपलब्धि मानिएको छ । भवन निर्माणको प्रक्रिया अघि बढ्ने भएपछि स्थानीयवासीमा उत्साह थपिएको छ । जग्गा प्राप्त भएपछि निर्माण निश्चित भएको अध्यक्ष श्रेष्ठले वताए । अध्यक्ष श्रेष्ठले चालु आर्थिक वर्षमै प्रशासनिक भवन निर्माणका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकिएको बताउँदै अब विस्तृत परियोजना तयारी गरी निर्माण कार्य सुरु गरिने वताए ।

भूमि प्रशासन कार्यालय नुवाकोटले चौघडा सिँचाइ सब–डिभिजनको नाममा कित्ता नं.३६८ र ९०१ मा रहेको कुल ६ रोपनी ५ आना १ पैसा ३ दाम सरकारी जग्गा लिखु गाउँपालिकालाई प्रशासनिक भवन निर्माणका लागि उपयोग गर्न प्रमाणपत्र प्रदान गरेको हो । लामो समयदेखि कहिले भाडाको घर तथा अस्थायी संरचनाबाट सेवा प्रवाह गर्दै आएको लिखु गापाले आफ्नै प्रशासनिक भवन निर्माण भएपछि सेवा प्रवाह थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ ।


सर्वाधिक रुचाइएको