भत्तावाट घाइते कलाकारलाई सहयोग

– उपचारका लागि रकम प्रदान
लोकखवर मनोरन्जन संवाददाता
२०८३ श्रावण ८, शुक्रबार २३:३९

बिदुर – आफ्नो वैठक तथा अन्य कार्यवाट आएको भत्ता एक जना निर्देशकले घाइते कलाकारहरुको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । चलचित्र विकास बोर्डका प्रवक्ता एवं चलचित्र जाँचपास समितिका सदस्य तथा चलचित्र निर्देशक सन्तोषबाबु लोहनीले उपचाररत घाइते कलाकार कोपिला थापालाई आर्थिक सहयोग गरेका हुन् । लोहनीले गत असार महिनामा चलचित्र जाँचपास गरेबापत आफुले प्राप्त गरेको सम्पूर्ण भत्ता थापाको उपचारका लागि उपलब्ध गराएका हुन् ।

चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको उपस्थितिमा लोहनीले अस्पतालमै पुगेर कलाकार थापालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । कलाकार कोपिला थापा झण्डै तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैंची धाम दर्शनका लागि जाने क्रममा भएको यातायात दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् । त्यसयता उनी निरन्तर उपचाररत छिन् । लामो समयदेखि उपचार जारी रहँदा आर्थिक भार बढ्दै गएपछि निर्देशक लोहनीले सहयोग गरेका हुन् । यसवाट कलाकार थापाको उपचारमा केहि रकम मद्धत पुगेको छ ।

 

 


सर्वाधिक रुचाइएको