नगद र ताससहित ६ जना पक्राउ
बिदुर – नुवाकोटको गणेशस्थानमा नगद र ताससहित ६ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । तास खेलिरहेको अवस्थामा नुवाकोटको पुर्वी भेगमा रहेको सूर्यगढी गाउँपालिका–५ फेदीबेसीँमा घरधनीसहित ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनीहरूको साथबाट नगद ६७ हजार ६ सय ६५ रुपैया, एक वुक तास र सिमिको गेडागुडी दानासहितको कप एक थानसमेत बरामद गरिएको प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरको भनाई छ ।

उनका अनुसार पक्राउ पर्नेहरुमा घरधनी बेलकोटगढी नगरपालिका १३ स्थायी घर भई हाल सूर्यगढी गाउँपालिका–५ फेदीबेशी बस्ने ५५ वर्षिय हिराबहादुर तामाङ, सुर्यगढी गापा ५ कै ६० वर्षिय मोहन अधिकारी, सोही स्थानका ४९ वर्षिय रामकृष्ण बस्नेत, ४२ वर्षिय सुदनजंग खाती, ५६ वर्षिय कृष्णबहादुर थापा र ५१ बर्षिय रामचन्द्र बोगटी रहेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खरानीटारवाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकामाथि जुवा ऐन सम्बन्धि कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।











































