ऐतिहासिक पहिचानको विनाश
बिदुर – भदौ १० गते बुधबार बिहान १० बजेको समय अरू दिनजस्तै सामान्य र नियमित थियो। मानिसहरू आ-आफ्नो दैनिक कामधन्दा, खाना पकाउने र विद्यालय जाने तयारीमा व्यस्त थिए। तर, एकाएक चीनको स्वशासित क्षेत्रबाट भोटेकोशी हुँदै रसुवागढी नाका भएर आएको अकल्पनीय र विनाशकारी बाढीले नुवाकोट जिल्लाका प्रमुख व्यापारिक तथा ऐतिहासिक बस्तीहरूलाई क्षणभरमै खण्डहरमा परिणत गरिदियो। केवल १० मिनेटको छोटो समयभित्रै शताब्दीऔँ पुरानो ऐतिहासिक त्रिशूलीबजार र आसपासका क्षेत्रहरू सखाप बने।

ऐतिहासिक पहिचानको विनाश
त्रिशूली अर्थात् साँगुरो बजारका नामले परिचित यो क्षेत्र नेपालको इतिहाससँग प्रत्यक्ष रूपमा जोडिएको छ। सदियौँ पहिले काठमाडौँबाट नुवाकोट, धादिङ, गोरखा हुँदै पाल्पासम्म पैदल तथा घोडामार्फत जाने मुख्य व्यापारिक तथा प्रशासनिक मार्ग यही बजार भएर जान्थ्यो। राजा पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नेपाल एकीकरणको समयमा गोरखाबाट धादिङ हुँदै त्रिशूली नदी तरेर नुवाकोट टाकुरोमा आक्रमण गरी विजय प्राप्त गरेका थिए। त्यसैगरी राणा प्रधानमन्त्री जंगबहादुर राणाले त्रिशूलीकै तत्कालीन पुलबाट घोडासहित हामफालेको किंवदन्ती अझै पनि स्थानीयमाझ जीवन्त छ।

व्यापारिक हिसाबले अधिकांश नेवार समुदाय र अन्य मिश्रित जातजातिको बसोबास रहेको यस बजारमा साना-ठूला गरी करिब एक हजार घरहरू थिए। तर, भदौ १० गतेको लेदो र भीषण बहावसहितको बाढीले ९० प्रतिशत संरचना ध्वस्त पारेको छ। हाल माथिल्लो भेगका करिब १० प्रतिशत घरहरू सग्लो देखिए पनि ती बस्नका लागि पूर्ण रूपमा अनुपयुक्त र जोखिमयुक्त छन्।
स्थानीय पीडित केशवबहादुर श्रेष्ठका अनुसार बाढीले उहाँको दुईतले घर पूर्ण रूपमा पुरेको छ। बिहान १० बजे घरमै बाढीको चपेटामा पर्नुभएका श्रेष्ठलाई बेलुकी ४ बजे जेसीबीको सहयोगमा अन्य १० जनासहित जीवितै उद्धार गरिएको थियो। “नुवाकोटको पहिचान र इतिहास बोकेको बजार १० मिनेटमै समाप्त भयो, अब यो बजार कहिल्यै अघिल्लेजस्तै उठ्न सक्दैन,” श्रेष्ठले भावुक हुँदै भने।

विस्थापित, बेपत्ता र भौतिक क्षति
बाढीले पुर्याएको क्षतिको विवरण अत्यन्तै भयावह छ। बजारका अधिकांश घरहरूको जग र निशानासमेत बाँकी छैन। खाना खाइरहेको तथा काममा व्यस्त रहेको समयमा अचानक बाढी आएकाले धेरै मानिसहरू भाग्न पाएनन्। हालसम्म त्रिशूलीबजार क्षेत्रबाट मात्रै ७० जनाभन्दा बढी मानिसहरू बेपत्ता छन्, जसको खोजी कार्य अझै जारी छ।
भौतिक पूर्वाधारतर्फ, त्रिशूलीबजार र पारि ढुंगेबजार जोड्ने दुईवटा पक्की मोटरेबल पुलहरू बाढीले मिनेटभरमै ढालेर बगाएपछि सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन र आवतजावतका लागि ५०० मिटर माथि तुइन गाडेर प्रयास भइरहेको छ।

नेपाल सरकारका सम्बद्ध निकायहरूले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार बाढीले करिब आठ सय घर बगाएको छ। तर, स्थानीयबासीका अनुसार वास्तविक क्षति त्योभन्दा धेरै गुणा बढी छ; दुई हजारभन्दा बढी घरटहरा बाढीको भेटिएका छन्। बाढी आएको आठौँ दिन भदौ १७ गतेसम्म पनि बेपत्ताहरूको खोजी, उद्धार तथा राहत वितरणको प्रयास जारी छ। बाँचिसकेका पीडितहरू आफ्ना बगेका घरका निशाना खोज्दै, माटो र लेदो कोट्याउँदै सामान वा सम्झनाका अवशेष भेटिन्छन् कि भनेर टोलाइरहेका भेटिन्छन्।











































