बाढीपछि नुवाकोटका अधिकांश स्थानमा विद्युत सन्चालित
बिदुर – अकल्पनिय बाढीका कारण नुवाकोट र रसुवाका विद्यतीय संरचनाहरुमा ठुलो क्षति पुगेको छ । क्षति पुगेका संरचनाहरु मर्मत गरेर विद्युत जोड्ने कार्य भइरहेको छ । बाढी आएको दिन भदौ १० गते वुधवार नुवाकोट र रसुवा पुरै अन्धकार भएकोमा १२ दिनसम्म विद्यतीय लाइन मर्मत गरेर अधिकांश स्थानमा विद्युत सुचारु गर्ने कार्य गरिएको नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले जनाएको छ । आइतवारसम्म नुवाकोटको ९७ दशमलव पांच प्रतिशत स्थानमा विद्युत सुचारु गरिएको वितरण केन्द्र प्रमुख राजकुमार रमणले जानकारी दिए ।

उनका अनुसार बिदुर नपा १०, ११ र तारकेश्वर गापा ४ मा विद्युत लाइन मर्मत कार्य भइरहेको छ । सोमवारसम्म उक्त स्थानमा विद्युत लाइन मर्मत गरिसकिने कर्णले वताए । बाढीले प्रभावित नुवाकोटको छिमेकी रसुवाको विद्युतसमेत अवरुद्ध भएको थियो । रसुवाको ७५ प्रतिशत स्थानमा विद्युतीकरण गरिसकिएको जनाइएको छ ।

यसका साथै पुर्वाधार विकास मन्त्रालय सन्चार कार्यदलका संयोजक तथा उत्तरदक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयका निर्देशक धर्मेन्द्रकुमार झाको संयोजकत्वमा रहेको क्षति मुल्यांकन टोलीले आइतवार नुवाकोटमा पुगेर क्षति अनुगमन, दुरसन्चार, सन्चार तथा इन्टरनेट पुर्नस्थापनामा भएको कार्यको स्थलगत अनुगमन गरेको छ । उक्त क्रममा बाढीले ध्वस्त पारेका स्थानवाहेक अन्यत्र इन्टरनेट, विद्युतीकरण, मोवाइल सेवा सन्चालन भएको जानकारी लिएको छ ।

उक्त सेवा सुचारुका लागि सामान ढुवानी तथा अन्य कार्यका लागि हेलिकप्टरसमेत प्रयोग गरिएको छ । उक्त सन्चार कार्यदलमा पुर्वाधार विकास मन्त्रालय, सन्चार मन्त्रालय, राष्ट्रिय योजना आयोग, सडक कार्यालय, नेपाल इन्जिनियर एशोसियसनलगायत रहेको कार्यदलका सदस्य तथा सन्चारमन्त्रालयका उपसचिव रविन्द्रप्रसाद पौड्यालले जानकारी दिए ।












































