आकस्मिक स्वास्थ्य सेवाको लाभ दिदै बाढी पीडितहरु

– सेवाग्राहीहरु वढ्दै
लोकखवर स्वास्थ्य संवाददाता
२०८३ आश्विन ११, आईतवार २२:१६

बिदुर – लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले प्रभावित पारेकाहरुको स्वास्थ्य सुरक्षाका लागि नुवाकोटमा सन्चालित आपतकालीन स्वास्थ्य सेवा केन्द्रबाट बाढी पीडितहरुले लाभ लिइरहेका छन् । दैनिक रुपमा सेवाग्राहीहरु वढिरहेका छन् । नुवाकोटमा प्रलयकारी बाढीका कारण विस्थापित भएकाहरुको स्वास्थ्य उपचारको प्रभावकारिताका लागि उक्त केन्द्र सन्चालन गरिएको हो ।

बिदुर नगरपालिका ५ पिपलटारमा सञ्चालित आकस्मिक तथा आधारभूत स्वास्थ्य सेवाको चिकित्सक तथा स्वास्थ्यकर्र्मीहरुले दैनिक स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।
पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सञ्चालित आकस्मिक तथा आधारभूत सेवा केन्द्रवाट दैनिक रुपमा स्वास्थ्य सेवा लिनेहरु वढिरहेका छन् ।आइतवार एकैदिन झण्डै ५० जनाले उक्त स्वास्थ्य सेवा लिएको त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए ।

उनका अनुसार कुल आपतकालीन सेवामा ४२ जना बिरामीहरूले सेपा लिएका हुन् । जसमध्ये २४ पुरुष र १८ जना महिला रहेका छन् । नौ जनाले ल्याब सेवा, चार जना भर्ना, ८३ वर्षिया वृद्धा रिफर, दुई जना डिष्चार्ज, चार जनाले यूएसजी सेवा लिएको डा. लामाले जानकारी दिए । बाढीले नुवाकोट जिल्ला अस्पताल कोलोनी जान सडक तथा यातायात सम्पर्क विच्छेद गरिदिएपछि प्रभावितहरुको उपचारका लागि पिपलटारमा आपतकालीन तथा आधारभुत स्वास्थ्य सेवा केन्द्रको सन्चालन गरिएको हो ।

प्रलयकारी बाढीले जिल्ला अस्पताल कोलोनी जाने त्रिशूली नदीमा ढुंगे र त्रिशूलीवजारको वीचका दुई वटा पक्कि पुल बगाएपछि अस्पतालसम्म पुग्न कठिनाई भोगिरहेका बाढी पीडितहरुका लागि बागमती प्रदेश सरकारले नुवाकोटको पिपलटारमा आपतकालीन तथा आधारभुत स्वास्थ्य सेवा सन्चालन गरिएको हो । त्रिशूली अस्पताल नुवाकोट, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय पिपलटार र वागमति प्रदेश सरकारको साझेदारीमा सञ्चालित आकस्मिक तथा आधारभूत सेवा केन्द्रमा दैनिक रुपमा सेवाग्राहीहरु आउने क्रम वढेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

बाढीले पुल ध्वस्त पारेर त्रिशूली अस्पतालसँगको सहज पहुँच टुटेका सर्वसाधारणलाई स्थानीयस्तरमै उपचार उपलब्ध गराउने उद्देश्यले चार शय्याको उक्त स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले जानकारी दिए । उनका अनुसार उक्त केन्द्रवाट बाढी पीडितहरुका लागि प्रभावकारी रुपमाा स्वास्थ्य उपचार सेवा सन्चालन गरिएको हो । उक्त स्वास्थ्य सेवालाई नियमित रुपमा सन्चालन गरिने जनाइएको छ ।

यसका साथै विरामीहरुको लागि रगत सहजताका लागि नुवाकोटको बट्टारमा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ । त्रिशूली अस्पतालमा उपचार गराउदै आएका बिरामीलाई उपलब्ध गराउन रगतको अभाव भएकाले रक्तदान कार्यक्रम गरिएको रक्तसन्चानर केन्द्र नुवाकोटकी प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिइन् ।


सर्वाधिक रुचाइएको