घरवारविहीनका लागि घरटहरा निर्माण सुरु

– ४० वटा घरटहराको निर्माण सुरु
लोकखवर विशेष संवाददाता
२०८३ कार्तिक १८, मंगलवार २३:४५

बिदुर – गत भदौ १० गतेको अकल्पनीय बाढीबाट घरबारविहीन बनेका परिवारको पुनःस्थापनाका लागि नुवाकोटको मैरिटारमा घरटहरा निर्माण सुरु भएको छ । यसवाट बाढी पीडितहरुलाई सुविधा पुग्ने जनाइएको छ । बाढीले प्रभावित विदुर नगरपालिका–३ स्थित बुधसिङघाटको मैरिटारमा आयोजित कार्यक्रमबीच नेकपा एमालेका केन्द्रीय सचिव तथा पुर्वमन्त्रि महेश बस्नेतले आवास निर्माण कार्यको सुरुवात गरेका हुन् । नेशनल भोलिन्टियर फोर्सले ४० वटा घरटहराको निर्माण सुरु गरेको हो ।

सचिव बस्नेतले विपदको समयमा प्रभावितहरुका लागि स्वंसेवाको भावनाले निस्वार्थ रुपमा उक्त कार्य सुरु गरेको वताए । उनले समयमा घरटहरा निर्माण गरेर पीडित परिवारलाई हस्तान्तरण गर्न स्वंसेवामा खटिएको टोलीलाई आग्रह गरे । विपद्का कारण घरबार गुमाएका नागरिकलाई पुनःस्थापना गर्ने उद्देश्यसहित सुरु गरिएको यस अभियानले प्रभावित परिवारलाई सुरक्षित बसोबासको व्यवस्था गर्न सहयोग पुग्ने अपेक्षा गरिएको सचिव वस्नेतको भनाई छ ।

गत भदौ १० गते आएको प्रलयकारी बाढीका कारण विस्थापित भएका मैरिटारका बाढी पीडित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले घरटहरा निर्माण सुरु गरिएको हो । नेकपा एमालेले यसअघि पनि विदुर नगरपालिका–५ पिपलटारमा बाढी पीडितका लागि अस्थायी आवास निर्माण गरिसकेका छन् । नेकपाले बेलकोटगढी नगरपालिकाको रातमाटेमा अस्थायी आवास वनाइदिएको छ ।बाढीका कारण नुवाकोटमा मात्रै २८ सय वढि घरधुरी ध्वस्त पारेको छ । सयौं परिवार विस्थापित भएका छन् ।

ठूलो संख्यामा परिवार घरबारविहीन भएपछि उनीहरूको सुरक्षित आवास र पुनःस्थापनाको विषय चुनौतीका रूपमा रहेको छ । बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि मैरीटारमा ४० वटा घरटहरा निर्माण सुरु भएको हो । बाढी प्रभावित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यस कार्यले पीडित परिवारको पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । बाढीले त्रिशूली नदीको किनारमा रहेको मानवीय वस्तीको संरचना नै खण्डहर वनाइदिएको छ ।


सर्वाधिक रुचाइएको