बाढी प्रभावितको रोग निगरानी कार्यक्रम
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा प्रभावित पारेकाहरुलाई रोग निगरानी कार्यक्रम सन्चालन गरिएको छ । जसअन्र्तगत विपद प्रभावितहरुलाई प्रत्यक्ष रुपमा स्वास्थ्य शिक्षासहितको उपचार प्रदान गरिदै आएको छ । ‘विपदको समय सकिएपछि पनि स्वास्थ्य विपद सकिएको हुँदैन’ भन्ने सन्देशसहित विपद प्रभावितहरु आश्रय लिएर वसेको स्थानमा पुगेर स्वास्थ्यकर्मीहरुले रोग निगरानीका साथै स्वास्थ्य शिक्षा कार्यक्रम प्रदान गर्दै आएको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयको संयोजनमा प्रत्येक साता प्रभावितहरु रहेको नुवाकोटको अस्थायी आश्रयस्थल पुगेर रोग निगरानी र स्वास्थ्य शिक्षा कार्यक्रम सन्चालन भइरहेको कार्यालयकी प्रमुख डा. अन्जु कार्कीले जाकनारी दिइन् । उनका त्रिशूली अस्पताल, विभिन्न संघसंस्थाका स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठन का प्राविधिक सहयोगमा बाढी प्रभावितहरु अस्थायी बासोबास गरिरहेको स्थानमा पुगेर विदुर नगरपालिका ५ मा रहेको कोदोबारी, वाणाचौतारो, लामिवगैचा, ठुलोगाउंमा पुगेर अस्थायी आश्रय/टेन्टमा रहेका समुदायहरुलाई “श्वास प्रश्वास प्रणालीसंग सम्बंधित रोगहरू र सरसफाई ” सम्बन्धि सचेतना कार्यक्रम तथा शिविर सञ्चालन गरिएको हो ।

यसवाट बाढी प्रभावितहरु लाभान्वित भएका छन् । यसैवीच, त्रिशूली अस्पतालमा एक बालकको जटिल शल्यक्रिया गरिएको छ । १२ वर्षीय एक बालकमा देखिएको एक्युट एपेण्डिक्सको जटिल अवस्थालाई समयमै पहिचान गरी त्रिशूली अस्पतालमा सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

बिरामी अस्पताल आइपुग्दा एपेन्डिक्स लगभग पूर्ण रूपमा प्वाल पर्ने र पेट भित्र पिप जमेको र सङ्क्रमण पेटमा फैलिएको अवस्थामा सफल रुपमा शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पताल प्रमुख तथा शल्य चिकित्सक सर्जन डा. राजेन्द्र लामाको नेतृत्वमा, एनेस्थेसिया सेवातर्फ आशिष दुवाडी तथा दक्ष स्वास्थ्यकर्मीहरूको समन्वय, मेहनत र अथक प्रयासबाट जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ ।














































