बर्थिङ सेन्टरका लागि उपकरण
बिदुर – ग्रामीण भेगमा स्वास्थ्य सुरक्षामा जोड दिदै नुवाकोटको रातमाटे स्वास्थ्य चौकीमा वर्थिङ सेन्टरका स्वास्थ्य उपकरणहरु प्रदान गरिएको छ । यसवाट प्रशुती सेवाका लागि सहजता भएको छ । नेपाल रेडक्रस सोसाइटी नुवाकोटले युनिसेफको सहकार्य र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा बेलकोटगढी नगरपालिका ७ महादेवफांटको रातमाटे स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर सन्चालनको लागि आबश्यक उपकरण तथा सामग्री हस्तानतरण गरेको हो ।

रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले कार्यक्रमकावीच वडाध्यक्ष भुबनेश्वर नेपालको आतिथ्यतामा ति सामग्रीहरु हस्तान्तरण गरे । बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यस क्षेत्रका गर्भवती महिलालाई आफ्नै गाउँठाउँमा सुरक्षित प्रसूति सेवा लिन सहज हुने अपेक्षा गरिएको सभापति श्रेष्ठको भनाई छ । उनका अनुसार सामान्य प्रसूति सेवाका लागि सदरमुकाम तथा काठमाडौंका स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता कम हुने र समयमै स्वास्थ्य सेवा पाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

बर्थिङ सेन्टरको छिट्टै सुरुवात गर्ने तयारी भइरहेको वडाध्यक्ष भुवनेश्वर नेपालले वताए । वर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा थप सहजता आउने अपेक्षा गरिएको नेपालको भनाई छ ।











































