स्वाद तथा गन्ध थाहा नपाउनेको पीसीआर परीक्षण गरिने

लोकखबर
१८ श्रावण २०७७, आईतवार १५:११

मकवानपुर ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणसम्बन्धी मापदण्ड परिवर्तन गरेको छ । गत साउन १४ गते आएको नयाँ ‘नेसनल कोभिड १९ टेस्टिङ गाइडलाइन’ अनुसार खोकी, ज्वरो, सास फेर्न कठिनाइका हुनुका साथै स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालाका बिरामीको पनि पीसीआर परीक्षण गर्न सकिने उल्लेख छ ।

त्यसैगरी संक्रमितको सम्पर्कमा आएका तथा फ्रन्ट लाइनमा काम गर्नेहरूका साथै चिकित्सकीय मूल्यांकनका आधारमा मध्यम, गम्भीर र गम्भीर अवस्थाका कोरोना संक्रमित डिस्चार्ज गर्दा पनि पीसीआर गरिने मापदण्डमा उल्लेख छ ।

संक्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका व्यक्तिहरूको, गम्भीर श्वासप्रश्वासको समस्या भएका र विदेशबाट आएका सबै मानिस (स्थल तथा हवाई मार्गबाट आउने सबैलाई क्वारेन्टिनमा बसेको पाँचदेखि सात दिनभित्र) कोभिड १९ परीक्षण गरिने उल्लेख छ ।

फ्रन्टलाइन स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनका अन्य कर्मचारीहरू र विगत १४ दिनमा कोभिड १९ संक्रमण भएको क्षेत्रमा भ्रमण गरेकाहरू पनि कोरोना परीक्षण गरिनेछ ।

दीर्घरोगी, प्रतिरोधात्मक क्षमता कमजोर भइसकेकाहरू (विशेषतः ६० वर्ष उमेर नाघेकाहरू) कोभिड १९ परीक्षण गरिने र संक्रमण फैलिएको ठाउँबाट आएको १४ दिन भएका व्यक्तिहरूको पनि परीक्षण गर्ने भनिएको छ । आईसीयूमा रहेका सबै बिरामी र चिकित्सकीय मूल्यांकनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीहरू (आपतकालीन उपचार तथा शल्यक्रियाका लागि भने परीक्षण नतिजा कुर्नु नपर्ने) उल्लेख छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*