दुर्घटनामा युवकको ज्यान गयो
बिदुर – नुवाकोटको बट्टारमा सोमवार भएको दुर्घटनामा एक जना युवकको ज्यान गएको छ । बिदुर नगरपालिका ४ वट्टार संगमचोक नजिकै विद्युतीय माइक्रोवस र स्कुटर ठोक्किँदा स्थानीय एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटका बट्टारवजार संगमचोकस्थित भित्री सडकखण्डमा युनाइटेड आधारभुत विद्यालय नजिकै विद्युतीय गाडी र स्कुटर ठोक्किँदा स्कुटर चालक गम्भीर घाइते भएकोमा उपचारका क्रममा ज्यान गएको हो । हावाघरबाट संगमचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००६ख९११२ नम्बरको विद्युतीय माइक्रोवस र संगमचोकबाट हावाघरतर्फ जाँदै गरेको बा३८प. ३२४३ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर भएको दुर्घटनामा स्कुटर चालक विदुर नपा ४ बट्टारका ४४ वर्षीय नवराज दाहालको ज्यान गएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकार दिए ।

उनका अनुसार दुर्घटनामाा दाहालको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि तत्काल बिदुरस्थित चक्रदेव अस्पताल पठाइएकोमा थप उपचारका लागि काठमाडौं ग्राण्डी अस्पताल लगिएकोमा उपचारका क्रममा चिकित्सकले वेलुकी मृत घोषणा गरेका हुन् । प्रहरीले विद्युतीय गाडी र त्यसका चालक विदुर नपा–१ का २३ वर्षीय देव तामाङलाई नियन्त्रणमा लिएको छ ।













































