सिंचाइस्थित त्रिशूली नदीमा स्वचालित तुइन
बिदुर – दुई महिना अगाडिको बाढीले नुवाकोटको सिंचाई र सिमचौरमा आवतजावत गर्ने दुई वटा पक्कि मोटरेवल पुल ध्वस्त पारेपछि स्वचालित तुइन सन्चालनमा ल्याइएको छ । यसवाट वडादशैंमा आम सर्वसाधारणलाई सुविधा पुगेको छ । गत भदौ १० गते आएको प्रलयकारी बाढीले पक्की पुल बगाउँदा आवतजावतमा समस्या भोग्दै आएका नुवाकोटको बिदुर नगरपालिका र तारकेश्वर गाउँपालिकाका बासिन्दालाई यससंगै सुविधा भएको छ । बिदुर र तारकेश्वरका हजारौं बासिन्दा लाभान्वित भएका छन् ।

नुवाकोटको विदुर नगरपालिका–६ सिंचाइबाट त्रिशूली नदी परिी देवीघाट जलविद्युत् केन्द्रको मान्द्रेढुङ्गातर्फ जाने मोटरेबल स्वचालित डबल बकेट तुइन जडान कार्य सम्पन्न भएको छ । लायन्स इन्टरनेसनलको आर्थिक सहयोग, विदुर नगरपालिकाको नेतृत्व तथा पूर्वाधार विकास कार्यालय नुवाकोटको प्राविधिक सहयोगमा सम्पन्न उक्त आयोजनाबाट विदुरका वडा नं. ६, ३ र १२ तथा तारकेश्वर गाउँपालिकाको गोस्र्याङ र दाङसिङ गाउंका बासिन्दालाई नदी वारपार गर्न सहज भएको छ । मोटरबाट चल्ने स्वचालित तुइनको परीक्षण सफल भएसंगै सुविधा पुगेको हो ।

लायन्स इन्टरनेसनल ३२५ को आर्थिक सहयोग तथा पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाको प्राविधिक सहयोगमा उक्त तुइन सञ्चालनमा आएको तुइन निर्माणमा संयोजक गरेका लायन्स इन्टरनेसनल ३२५ आईका सचिव अनुजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त तुइन सञ्चालनमा आएसँगै विदुर नपा ३, ६ र १२ तथा तारकेश्वर गापाका ६ वटै वडाका बासिन्दालाई आवतजावतमा सहज भएको छ । यसवाट विशेषगरी वडादसैँमा घर आउने–जाने सर्वसाधारणलाई ठूलो राहत मिलेको छ ।















































