संसारीमाई मन्दिरक्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न वृक्षरोपण

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५, नवीनटोलका यूवाहरुले स्थानीय संसारीमाई मन्दिर क्षेत्र वरपर विभिन्न प्रजातिका वृक्षरोपण गरेका छन् ।
परापूर्वकालदेखि पितापुर्खाले पुजा आराधाना आइरहेको संसारीमाई मन्दिर क्षेत्रमा धुपी, गुलमर, बेल, विभिन्न सौन्दर्यबर्धक सो प्लान्ट लगायतका विरुवा रोपिएको हो । स्थानीय युवा नेता इश्वर ढुंगानाले मन्दिर संरक्षण तथा विकासका लाटि सघाउ पु¥याउने उद्देश्यले आवश्यक विरुवा उपलब्ध गराएका हुन् ।
मन्दिरक्षेत्रलाई धार्मिक, पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना अन्तर्गत वृक्षरोपण कार्यका लागि आवश्यक विरुवा उपलब्ध गराएको युवा नेता ढुंगानाले बताए । ‘स्थानीय युवाहरु संसारीमाई मन्दिर क्षेत्रमा धार्मिक पर्यटकीय विकासका लागि लागिपरेका छन् ।’ ढुंगानाले भने,‘मन्दिरक्षेत्र विकासको पाइला वृक्षरोपणमार्फत भएकोमा आवश्यक विरुवा सहयोग गर्न पाउँदा खुशी लागेको छ ।’
युवा नेता ढुंगानाको पहलमा वडामा विभिन्न सामाजिक, विकासका कामहरु हुँदै आइरहेकोमा त्यसको निरन्तरता अन्तर्गत नवीनटोलमा वृक्षरोपण गरिएको हो । स्थानीय युवा तथा टोलबासीको सक्रियतामा अहिले वृक्षरोपण गरी मन्दिर क्षेत्रमा विकासको सुभारम्भ गरिएको बताउँदै टोलका अगुवा गीतकार तथा संगीतकार राम कार्कीले बताए । ‘वृक्षरोपण संसारीमाई मन्दिरलाई धार्मिक विकासका लागि एउटा थालनी गरिएको हो ।’ कार्कीले भने, ‘ अब यस क्षेत्रमा व्यवस्थित मन्दिर, व्यवस्थित सिंढी, पार्क, प्रतिक्षालय लगायत संरचना निर्माण गर्नुछ । ’
संसारीमाई मन्दिरको परापूर्वकालदेखि नै विशेष धार्मिक महत्व रहेकाले यसको संरक्षण गर्नुपर्ने कार्कीको भनाई छ ।
धामी, झाक्रीले आफ्नो इष्ट देवताका रुपमा लिने गरेकाले संसारीमाई मन्दिरको उचित संरक्षण तथा व्यवस्थापन गर्दै धार्मिक पर्यटकीय विकास गर्न आफूहरु योजनाबद्द रुपमा लागिपरेको कार्कीले बताए । कार्कीको अनुसार संसारीमाई मन्दिरमा चैत पूर्णीमाका दिन कुमारी पाठीको भोग गर्ने चलन रहेको छ ।
वृक्षरोपण कार्यक्रममा स्थानीय युवाहरु कविरविक्रमण राणा, आशीष गौतम, सिर्जन बास्तोला, सुरज दुलाल, सन्तोष दुलाल, नवराज गौतम, मनोज ढुंगेल लगायतको सहभागिता थियो ।