रूपन्देही, चितवन र सुनसरीमा तीन कोरोना संक्रमितको मृत्यु
मकवानपुर । रूपन्देही, चितवन र सुनसरीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृतक २ महिला र एक पुरूष छन् । रुपन्देहीको बुटबलस्थित कोरोना अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको छ ।
कपिलवस्तु शिवराज नगरपालिका-५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
उनले दिएको जानकारी अनुसार ती महिला बुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएकी थिइन् । उनमा भदौ २१ मा कोरोना पुष्टि भएको थियो । उनको आइसीयुमा उपचार भइरहेको थियो । उनी मिर्गौला रोगबाट पीडित रहेको र डायलासिस भइरहेको डा.गौतमले बताए ।
यस्तै चितवनको गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११:३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
यस्तै मोरङका कोरोना भाइरस संक्रमित पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।
मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुषको उपचारका क्रममा आइतबार राति ८:४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।
उपचारका लागि प्रतिष्ठान भर्ना गरिएका उनमा यही भदौ २६ गते संक्रमण पुष्टि भएको थियो ।
अर्थो अवजरवेसन वार्डमा राखेर उपचार गराइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानकै कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
मृतकमा कुनै पनि दीर्घ रोग नभएको प्रतिष्ठानका प्रवक्ता डा.सापकोटाले बताए ।खबरहब डटकमबाट