सेयर बजारमा करेक्सन, नेप्से ६ अंकले घट्दा कारोबार रकम साढे ३ अर्ब नाघ्यो
![](https://www.lokkhabar.com/wp-content/uploads/2020/09/2020-09-21_11.jpg)
मकवानपुर । साताको दोस्रो दिन सेयर बजारमा करेक्सन देखिएको छ । गत साताको मंगलबार सामान्य घटेको नेप्से त्यसपछिको ४ कारोबार दिनमा लगातार हरियाली भएको थियो । तर आज पुनस् नेप्सेमा सामान्य करेक्सन देखिएको छ ।
प्रि-ओपनीङ सेसनमै १३ अंकभन्दा बढीले वृद्धि भएर खुलेको नेप्से बजार खुलेसँगै ओरालो लाग्न पुग्यो । सोमबार बजार खुल्दा नेप्से १५८७.७५ अंकमा खुले पनि त्यसपछि भने बजारमा नेप्से लगातार आरालो लाग्यो । ११ बजेर २० मिनेटमा नेप्से घटेर १५६१.१९ अंकसम्म झर्यो । त्यसपछि बजारमा केही उतारचढाव भए पनि अन्तिममा बजार परिसूचक ६.१२ अंकले घटेर १५६९.०६ अंकमा बन्द भयो ।
सोमबार नेप्सेमा करेक्सन देखिए पनि कारोबार रकम भने साढे २ अर्ब नाघेको छ । सोमबार नेप्सेमा ६१ हजार ९३६ वटा कारोबारमा ८५ लाख ६५ हजार ०७८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा १९५ कम्पनीको सेयर कारोबार भएको छ ।
सोमबार नेप्सेमा उत्पादनबाहेक सबै समूहको सूचकमा करेक्सन देखिएको छ । उत्पादन समूहको सूचक भने ०.४ प्रतिशतले बढेको छ । यता बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक ०.३४ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार, होटेल, वित्त कम्पनी र म्युचुअल फन्ड समूहको सूचक भने १ प्रतिशतभन्दा बढीले घटेको छ ।
आज नेप्सेमा युनाइटेड इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस्तै लिबर्टी इनर्जी, रैराङ हाइड्रोपावर र घलेम्दी हाइड्रपावरको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । नेप्सेमा गत साता सूचीकृत भएर हिजो आइतबारबाट बजारमा कारोबार सुरु भएको लिबर्टी इनर्जीको सेयर मूल्यमा आज लगातार दोस्रो दिन पनि नकारात्मक सर्किट लागेको हो ।
नेसनल हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, सिन्धु विकास बैंक र नाडेप लघुवित्तका लगानीकर्ता सोमबार सर्वाधिक कमाउनेको सूचीमा अगाडि देखिएका छन् ।
आज नेप्सेमा कारोबार रकमका आधारमा बजारको नेतृत्व नेपाल बैंकले गरेको छ । गत आर्थिक वर्षमा तुलनात्मक रुपमा राम्रो ब्यालेन्स सिट प्रकाशित भएको र उच्च बोनसको आशा र न्यून सेयर मूल्य भएकाले पनि पछिल्लो समय नेपाल बैंक लगानीकर्ताको आकर्षणमा परेको छ । कारोबार रकममा नेपाल बैंकलाई नेपाल पुनर्बिमा कम्पनी, रिलायन्स लाइफ, छिमेक लघुवित्त र शिखर इन्स्योरेनसले पछ्याएका छन् ।बाह्रखरी डटकमबाट