चल्यो केबलकार, चन्द्रागिरिमा बढ्दै चहलपहल

लोकखबर
१२ आश्विन २०७७, सोमबार १२:२३

मकवानपुर । बाह्‍य र आन्तरिक पर्यटकको प्रमुख गन्तव्य थलो चन्द्रागिरि केबुलकार कोभिड-१९ का कारण लामो समयसम्म बन्द रह्‍यो । लकडाउन खुलेसँगै चन्द्रागिरि घुम्‍न आउनेको चहलपहल पनि बढ्दै गएको छ ।

यहाँको केबलकारमा चढ्न बर्सेनि लाखौं आन्तरिक तथा बाह्‍य पर्यटकहरुको घुइँचो लाग्‍ने गरे पनि यस वर्ष कोरोनाका कारण ६ महिनादेखि बन्द केबुलकार बल्ल सञ्‍चालनमा आएको छ । इतिहास बोकेको चन्द्रागिरि पहाड घुम्‍न केबुलकारमा १४ मिनेट लाग्‍ने गर्छ ।

काठमाडौंको धुँवाधुलो, कोलाहल र एकोहोरो दैनिकीलाई केही आराम दिनेबारे सोच्‍न आउनेबित्तिकै उपत्यकामा बसोबास गर्नेहरुको फ्रेस हुन चन्द्रागिरि केबलकारलाई रोज्‍ने गर्छन् । चन्द्रागिरि नगरपालिकाको थानकोटमा सञ्‍चालित केबलकार चढेर दिनहुँ भालेश्‍वर महादेवको मन्दिरमा दर्शन गर्न र प्राकृतिक एवं सुन्दर वातावरणमा रमाउन र उपत्यकाको दृश्य हेर्न यहाँ सर्वसाधारण पुग्‍ने गर्छन् ।

गत वर्षहरुमा चन्द्रागिरि केबुलकार चढ्ने घुइँचो बिहानैदेखि देख्‍न सकिन्थ्यो तर यस वर्ष भने कोरोनाका कारण त्यो संख्या ह्‍वात्तै घटेको हो ।

यतिबेला चन्द्रागिरि हिल्सले केबलकार चढ्नेका लागि ५० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ । चाडपर्वको अवसर पारेर चन्द्रागिरि हिल्सले विशेष अफर सार्वजनिक गरेको हो । चन्द्रागिरि घुम्‍न चाहने बाह्‍य र आन्तरिक पर्यटकलाई चन्द्रागिरि हिल्सले केबलकारमा ५० प्रतिशत छुट मंसिर १५ गतेसम्म दिने योजना रहेको जनाएको छ । अहिले चन्द्रागिरिमा दैनिक दुई सयको हाराहारीमा सर्वसाधारण घुम्‍नकै लागि पुग्‍ने गरेका छन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*