अक्षय भन्छन् – बलिउडमा लागुऔषधको समस्या छैन भनेर म कसरी झुटो बोल्न सक्छु
मकवानपुर । सुशान्तको मृत्यु प्रकरणदेखि लागुऔषध मुद्दाले अहिले बलिउडमा नयाँ तरंग सिर्जना गरेको छ । बलिउडकर्मीदेखि थुप्रै व्यक्तिहरुले यस विषयमा आ-आफ्नो विचार व्यक्त गरिरहेका छन् ।
यस्तैमा अभिनेता अक्षय कुमारले पनि सामाजिक सञ्जालमा सुशान्त, बलिउड र लागुऔषध मुद्दाबारे बोल्दै गरेको आफ्नो एक भिडियो पोस्ट गरेका छन् ।
अभिनेता अक्षयले पछिल्लो केही हप्तादेखि मनमा धेरै कुरा आए पनि चारैतिर नकारात्मकता फैलिएको हुनाले के भन्ने, कसलाई भन्ने, कति बोल्ने केही थाहा नभएको भन्दै आज भने भारी मन लिएर सबै कुरा व्यक्त गर्ने निर्णय लिएको बताए ।
अभिनेता अक्षय भन्छन्, “सुशान्तको आकस्मिक निधनपछि त्यस्ता धेरै मुद्दाहरु उठेका छन् । जसले तपाईंलाई जस्तै हामीलाई पनि पीडा दिएको छ । यी मुद्दाहरुले हामीलाई आफैंभित्र गहिरिएर हेर्न बाध्य गरेको छ । हाम्रो फिल्म इन्डष्ट्रीका धेरै त्रुटीहरु हेर्न बाध्य बनाएको छ । जसमा ध्यान दिन अत्यन्तै जरुरी थियो । जस्तै ड्रग्सको बारेमा आजकल कुरा भइरहेको छ ।”
उनी अगाडि थप्छन्,“म आज मेरो मुटुमा हात राखेर यस्तो हुँदैन भनेर तपाईंहरुसामु कसरी झुटो बोल्नु । अन्य इन्डष्ट्री र पेशामा जस्तै यहाँ पनि पक्कै हुन्छ । तर हरेक क्षेत्रका मानिस यसमा (ड्रग्स) मा संलग्न हुन्छन् भन्ने छैन । ड्रग्स कानुनी मुद्दा हो र मलाई विश्वास छ कि हाम्रो अदालत र अधिकारीहरुले यसमा गर्ने जुनसुकै छानबिन र कारबाही पनि सत्य हुनेछ । मलाई यो पनि थाहा छ की इन्डष्ट्रीका हर कोहीले पनि यस मुद्दामा उहाँहरुको साथ र सहयोग गर्नेछन् । यद्यपि सम्पूर्ण इन्डष्ट्रीलाई नै एउटै नजरबाट नहेरी दिन म तपाईंहरुसामु हात जोड्छु । यो सही होइन ।”
अभिनेता अक्षयले सम्पूर्ण सञ्चारमाध्यमसँग केही संवेदनशीलतालाई ध्यानमा राखेर समाचार सम्प्रेषण गरिदिन आग्रह पनि गरेका छन् ।
अन्तमा अक्षयले आफ्ना दर्शकलाई सम्बोधन गर्दै यदि दर्शकहरु बलिउडकर्मीदेखि रिसाएका छन् भने अझै कडा मिहनत गरेर इन्डष्ट्रीमा भएको सबै कमीकमजोरीलाई हटाउन प्रयास गर्न तयार रहेको बताए ।बाह्रखरी डटकमबाट