त्रिशूली–ढुंगे बेलिव्रिज निर्माण सुरु
बिदुर -लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटको त्रिशूलीमा पश्चिमी भेग जोड्ने दुई वटा पक्कि पुल वगाएपछि तीन सातादेखि आवागमन ठप्प रहेको छ । वैकल्पिक मार्ग सन्चालन गरिएपनि कच्ची र प्रभावकारी हुन नसक्दा जिल्ला अस्पताल त्रिशूल िजानसमेत समस्या भएको छ । बिदुर नगरपालिका १ त्रिशूली र ढुंगे बजार जोड्न आइतवारदेखि बेलिब्रिज निर्माणको कार्य सुरु भएको छ । बिदुर नगरपालिकाले उक्त बेलिब्रिज निर्माणको कार्य सुरु गरेको मेयर राजन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उक्त स्थानमा बेलिब्रिज निर्माणको कार्य सकिएपछि आवतजावतमा सहजता आउने छ । बिदुर नपाको आवश्यक पहलमा उक्त बेलिब्रिज निर्माणको कार्य अगाडि बढाइएको मेयर श्रेष्ठको भनाई छ । गत भदौ १० गते विहान १० वजे आएको अकल्पनीय बाढीले विदुर–१ ढुङ्गे–त्रिशूली जोड्ने दुई वटा पक्कि पुल ध्वस्त पारेपछि आवतजावत रोकिएको छ । कृषि विकास वैंकको पछाडि र त्रिशूली जलविद्युत केन्द्रमा ठिक तल उक्त बेलिब्रिज निर्माणको कार्य सुरु भएको हो ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नदी वारि–पारि आवागमन अवरुद्ध भएपछि विदुर नपाले दुई साता अगाडि पुल निर्माणका लागि स्थान छनोट गरी डिजाइन तयार गरेको थियो । डिजाइन स्वीकृत हुन बाँकी रहेको अवस्थामा सडक विभागका महानिर्देशक डा. विजय जैसी स्वयं निर्माणस्थलमा पुगेर डिजाइन स्वीकृत गरेसँगै आइतवारदेखि निर्माण कार्य अघि बढाइएको हो । पुल निर्माणको सम्पूर्ण खर्च विदुर नगरपालिकाले बेहोर्ने गरी काम सुरु गरिएको बिदुर नपाले जनाएइको छ ।

बेलिब्रिज निर्माणको लागि आवस्यक फाउण्डेसन निर्माणको कार्य सकेर ७० मिटर लम्वाईको पुल रासखने बिदुर नपा १ का वडाध्यक्ष लेनिन रेन्जितले जानकारी दिए ।
उनका अनुसार दुई साताभित्र बेलिव्रिजको निर्माण कार्य सक्नेगरि कार्य भइरहेको छ । बाढीबाट प्रभावित भई त्रिशूली नदी वार–पार आवागमन अवरोध भएपछि बिदुर नगरपालिकाले करिब १५ दिन अघि कृषि विकास बैंक पछाडिबाट त्रिशूली जोड्ने अस्थायी बेलिब्रिज निर्माणका लागि स्थान छनोट गरी डिजाइन तयार गरेको थियो ।
संघीय सरकार मातहतको सम्बन्धित निकायबाट उक्त डिजाइन स्वीकृत हुन बाँकी रहेकोमा आइतवारै सडक विभागका महानिर्देशक डा. विजय जैसी स्वयं फिल्डमा उपस्थित भई डिजाइन स्वीकृत गरि निर्माण कार्य सुरु भएको वडाध्यक्ष रन्जितको भनाई छ ।

बिदुर नपाका स्काभेटर, जेसिभीलगायतका हेभि उपकरण उक्त संरचना निर्माणमा लागेका छन् । बढीले ध्वस्त पारेको ढुंगे र त्रिशूली बजार जोड्न बेलिब्रिज निर्माणको लागि बिदुर नपा कार्यालयले आवश्यक कार्य अगाडि बढाएको हो । यसअघि नै विदुर नपाबाट परामर्शदाता मार्फत आवश्यक प्राविधिक अध्ययन गरी डिजाइन समेत तयार भइसकेकाले ७० मिटर लम्बाईको बेलीब्रिज उपलब्ध गराउन सडक विभागलाई गरिएको पत्राचारमा सडक विभागबाट सकारात्मक जवाफ प्राप्त भएको हो ।

बेलीब्रिज जडानको लागि नेपाली सेनालाई गरेको आग्रहलाई नेपाली सेनाबाट पनि स्वीकार भएको छ । पुल जडानमा लाग्ने सम्पूर्ण खर्च दायित्व बिदुर नपाले ब्यहोर्ने भएको हुदा जतिसक्दो चाडै ढुङ्गे–त्रिशूली जोड्न मोटरेबल पुल निर्माण हुने लक्ष्य चाडै पूरा गर्न सकिने विश्वास लिइएको छ । विदुर– १ ढुङ्गेबाट त्रिशूली बजार आवतजावत गर्न बेलिब्रिज जडानको थप प्राविधिक जानकारीको लागी मेयर राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, नेपाली सेनाको जर्नेल सुवासजंग थापा, उपमेयर प्रभा बोगटी, सडक डिभिजन नुवाकोटका प्रमुख बद्री शर्मा, विभिन्न वडाका वडाध्यक्षहरु सहित प्राविधिक टोलीबाट स्थलगत अध्ययन तथा अवलोकन गरिएको छ ।





















































