मुख्यमन्त्री शाही सच्चिनुपर्छ, कर्णाली विद्रोह रोकौं :नेता नेपाल

लोकखबर
२६ आश्विन २०७७, सोमबार १५:२८

मकवानपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सच्चिनुपर्ने र कर्णाली विद्रोह रोकिनुपर्ने बताएका छन् ।

कर्णाली प्रदेश संसदीय दलका बहुसङ्ख्यक सदस्यहरू मुख्यमन्त्रीविरुद्ध एकजुट भएपछि नेता नेपालले निर्देशन दिँदै फालिहाल्ने कुरा तत्काल रोक्न भनेका हुन् । “नेता नेपालले अहिले नै मुख्यमन्त्री हटाइहाल्ने कुरा रोक्न भनिसक्नुभएको छ । फालेर समाधान हुने होइन । मुख्य कुरा मुख्यमन्त्री सच्चिनुपर्छ । उहाँले कार्यशैली तत्काल परिवर्तन गर्नुपर्छ । यसलाई सबक ठानेर संसदीय दलको बैठक राखेर अरू साथीलाई विश्वासमा लिनुपर्छ,” नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

स्रोतका अनुसार मुख्यमन्त्रीविरुद्ध पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपाल पक्षधर सांसदहरूले ‘एक्सन’ लिएपछि प्रचण्ड क्षुब्ध बनेका छन् । उनले बिहानै खुमलटारमा नेपालसहित उनीनिकट र आफूनिकट नेताहरू बोलाएर छलफल गरेका थिए । भेटमा नेता नेपालले यही कुरा भनेको स्रोतको दाबी छ ।

“मुख्यमन्त्रीबाट त्यहाँका प्रदेश कमिटी, संसदीय दल सबै आजित छन्। कसैको निर्देशनको पालना नगर्ने, फौजी तरिकाले चल्ने, हिजो पनि साथीहरूले हामीले अविश्वासको प्रस्ताव दर्ता गर्न लाग्यौं भनेर छलफल गर्न लाग्दा, ल्याउनुहोस्, सामना गरौंला भनेर समझदारीमा नआउने कुरा गरेपछि उहाँको कार्यशैलीप्रतिको विद्रोह हो यो,” नेता नेपालनिकट एक नेताले भने, “अहिले नेपालले तत्काल कुनै कदम अघि नबढाउन भन्नुभएको छ।”

स्रोतका अनुसार नेता नेपालनिकट केही नेता सुर्खेत पुगिसकेका छन् । उनीहरूले त्यहाँ सहजीकरण गरिरहेका छन् । नेता नेपालको आग्रहमा नीरज आचार्यलगायत नेता अहिले सुर्खेत सहजीकरणका लागि उत्रिएका छन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*