राष्ट्रिय सभा सदस्यमा बादल, देवकोटा र तामाङको उम्मेदवारी मनोनयन दर्ता

लोकखबर
२४ बैशाख २०७८, शुक्रबार १८:५८

मकवानपुर । राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा तीन जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) का तर्फबाट साझा गठबन्धनबाट डा. खिमलाल देवकोटा, नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले बागमती प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।

गठबन्धनका तर्फबाट डा. देवकोटाले उम्मेदवारी दिने टुङ्गो बुधबार नै लागिसकेको थियो । बादलको उम्मेदवारी रहने पहिल्यै चर्चा चलेपनि देवकोटालाई विपक्षी सहितको समर्थन रहने निर्णय सुनेपछि बादल हच्किएको र हार्ने चुनाव नलड्ने भनेका खबर सार्वजनिक भएका थिए । तर आज विहान बसेको एमाले स्थायी कमिटीको बैठकले बादललाई नै उम्मेदवार बनाउने निर्णय लिएको हो । नेमकिपाका तर्फबाट पनि आजै निर्णय भई तामाङले उम्मेदवारीका लागि मनोनयन दर्ता गरिएको जनाइएको छ ।

देवकोटाले विहान साँढे १० बजे उम्मेदवारी दर्ता गरेका हुन् । देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलका नेता एवम् प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानूनी शालिकराम जम्मकट्टेल छन् भने समर्थकमा काङ्ग्रेस सांसद राधा घले रहेकी छिन् ।

देवकोटापछि एमालेका तर्फबाट गृहमन्त्री समेत रहेका बादलले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् । बादलको प्रस्तावकमा एमाले संसदीय दलका नेता समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रहेकी छिन् ।
यस्तै, नेपाल मजदुर किसान पार्टीका नेता कृष्णबहादुर तामाङको पनि उम्मेदवारी मनोनयन दर्ता भएको छ । तामाङको प्रस्तावकमा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सृजना सैंजु रहेका छन् ।

राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरेपछि पत्रकारहरुसंग प्रतिकृया दिदैं गृहमन्त्री बादलले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरे । उनले आफूले एमालेबाट उम्मेवारी दिएकाले सबै एमालेतर्फका मतदाताको मत पाउँने विश्वास गरे ।

‘पार्टीले मलाई उम्मेदवार बनायो । यो प्रदेशको ९ हजार ५ सय ६४ मतदाता मध्ये पार्टीको ५ हजार १ सय ३० मत छ । यो मतले नै मेरो जीत सुनिश्चित छ ।’ उनले दाबी गरे, ‘ पार्टीका अर्को पक्षबाट समर्थन हुँदैन भन्ने हल्लामात्र हो ।’

यस्तै, डा. देवकोटाले आफ्नो उम्मेदवारी मुलुकमा प्राप्त उपलब्धि रक्षाका लागि रहेको बताउँदै साझा गठनबन्धनबाट उम्मेदवार रहेकाले जित्ने बताए । ‘अहिले मुलुकको संविधान र व्यवस्थापन कमजोर बनाइएको छ । संघीय सरकारले स्थानीय र प्रदेश सरकारलाई हात्त खुट्टा बाँधेर काम गर्न दिएको छैन । प्राप्त उपलब्धि भताभुङ्ग गरिएको छ ।’ डा. देवकोटाले भने, ‘जनआन्दोलन, माओवादी आन्दोलन, जनजाती आन्दोलनबाट हामीले पाएका संविधान र व्यवस्थाको हत्या गर्ने काम प्रधानमन्त्रीबाटै भएकाले यसको रक्षाको लागि मेरो उम्मेदवारी हो । ’
आफू राजनीतिक दलहरुका तर्फबाट साझा उम्मेदवार भएको र सत्तारुढ एमालेले पनि समर्थन गर्ने बताए ।

यस्तै, नेमकिपाको तर्फबाट मनोनयन दर्ता गराएका तामाङले हार र जीतका लागि भन्दा पनि आफूले अधिकार प्रयोग गरेको बताए । ‘पार्टी ठूलो र सानो होइन, हाम्रो पनि अधिकार भएकाले पार्टीको निर्णय बमोजिम मनोनयन दर्ता गरेको हुँ ।’ उनले भने,‘जितियो भने संविधान, कानून बमोजिम आफ्नो भूमिका निर्वाह गर्नेछु ।’

निर्वाचन कार्यालयले विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि मनोनयन दर्ता गर्न समय दिएको थियो ।

गठनबन्धन उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका डा. देवकोटा स्वतन्त्र हैसितमा चुनाव लड्नुपर्ने भएकाले उनले दलको चुनाव चिन्ह नपाउने भएका छन् ।

उनले स्वतन्त्रलाई छान्न मिल्ने चिन्ह‘कलम’ रोजेका छन् । चुनाव चिन्हको अन्तिम निर्णय भने निर्वाचन आयोगले यही वैशाख २९ प्रदान गर्नेछ ।
निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार डा.देवकोटाको उम्मेदवारी स्वतन्त्र रहने भएकोले दलको चुनाव चिन्ह नपाउने बताउँदै मागे अनुसार नै चुनाव चिन्ह कलम पाउन सक्ने बताए ।

एमालेबाट उम्मेदवारी मनोनयन दर्ता गराएका गृहमन्त्री समेत रहेका बादल पार्टीकै चुनाव चिन्ह सूर्यबाट चुनाव लड्ने भएका छन् ।
तामाङ नेमकिपाको चुनाव चिन्ह मादल चुानवमा भाग लिने छन् ।

राष्ट्रियसभा सदस्यमा प्रदेशसभाका सदस्य, प्रदेशका १३ जिल्लाका पालिकाका प्रमुख तथा उप प्रमुखले मतदान गर्ने छन् । बाग्मती प्रदेशसभामा सदस्य ११० जना सदस्य रहेका छन् । यस्तै प्रदेशका विभिन्न १३ जिल्लाका १ सय १९ वटा पालिकाका प्रमुख र उपप्रमुख गरी २ सय ३८, प्रदेशसभा सदस्य ११० गरी ३ सय ४८ जना मतदाता रहेका छन् । मतभार गणना गर्दा प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत मानिनेछ ।

बागमती प्रदेशसभामा ११० सदस्य मध्ये सग्लो एमालेका ५७, माओवादी केन्द्रका २३, नेपाली काङ्ग्रेसका २२, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को पनि २ जना रहेका छन् भने जनता समाजवार्दी (जसपा) बाट एक जना रहेका छन् ।

प्रदेशसभामा सग्लो एमालेको ५७ जना सदस्य रहेकोमा केपी शर्मा ओलीका पक्षमा ३२ र माधव नेपाल पक्षमा २२ जना सांसद प्रदेश सभा सदस्य देखिएका छन् ।

यस्तै, पालिकाका प्रमुख र उप प्रमुखमध्ये एमालेको १३३ जना, काङ्ग्रेसको ६७, माओवादी केन्द्रको ३३, राप्रपाको २, नेमकिपा २ र जसपाका १ जना रहेका छन् ।

माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा पुगेका गृहमन्त्री बादल एमाले प्रवेश गरेपछि पार्टीबाट पदमुक्त भएपपछि रिक्त पदपूर्तिका लागि निर्वाचन हुन लागेको हो ।

आगामी जेठ ६ गते बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको भुटनदेवी माविमा चुनाव हुनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*