राष्ट्रियसभा सदस्य उप निर्वाचन : देवकोटा र बादलमा कसले जित्ला ?

लोकखबर
६ जेष्ठ २०७८, बिहीबार १६:२९

मकवानपुर । बागमती प्रदेशमा रिक्त सदस्य पदका लागि भएको राष्ट्रियसभा उप निर्वाचनमा ९७.४० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेशको राजधानी हेटौंडाको भुटनदेवी माविमा विहान सवा ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा ३३८ मत खसेको आयोगको भनाई छ ।
चुनावमा ४ जना प्रदेश सांसद र ५ जना स्थानीय तहका मतदाताले भोट नहालेको आयोगको भनाई छ ।

प्रदेशसभाका १०९ सांसद, स्थानीय तहका २३८ मतदाता गरी कुल मतदाता ३४७ जनाको मताधिकार रहेकोमा नौ जना अनुपस्थित रहेका हुन् । विवेकशील साझा पार्टीले नो भोट व्यवस्था हुुनुपर्ने माग सहित चुनावमा भोट नै नदिने घोषणा गरेको थियो ।

प्रदेशसभा सदस्य पशुपति चौलागाईंको केही दिन अघि निधन भएपछि ११० सदस्य संख्याबाट प्रदेशसभामा सदस्य संख्या १०९ रहेको छ ।
राष्ट्रियसभा सदस्य पदका लागि माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादल, एमालेका माधव नेपाल पक्षका डा. खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङका बीच चुनाव भएको हो । बादलका लागि एमालेले आधिकारिक उम्मेदवार बनाएको हो भने देवकोटालाई कांग्रेस, माओवादी केन्द्र, जसपाले साझा उम्मेदवार बनाएपनि उनी स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनावमा उठेका हुन् । देवकोटालाई एमालेको माधवकुमार नेपाल पक्षको समर्थन रहेको छ ।

साबिक नेकपा विवादका बेला ओली पक्षमा लागेका गृहमन्त्री समेत रहेका बादल सर्वोच्च अदालतले पार्टी एकता बदर गरिदिएपछि ओली नेतृत्वकै एमालेमा प्रवेश गरेका थिए । माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य पदमा पुगेका बादललाई पार्टीले पदमुक्त गरेपछि सोही रिक्त पदका लागि बागमती प्रदेशबाट चुनाव भएको हो ।

निर्वाचन सकिएपछि अब सर्व दलीय बैठक बसेर अपरान्ह करिब साँढे ४ बजेपछि भर्चुअल माध्यमबाट मतगणना सुरु गरिने तयारी गरिएको जनाइएको छ ।

निर्वाचन आयोगका अनुसार आज बेलुका ६ बजेसम्म नतिजा आइसक्नेछ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*