प्रशिक्षक नवीन न्याैपानेसँग आर्मीको सम्झौता नवीकरण
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब (टिएएफसी) ले प्रशिक्षक नवीन न्यौपानेसँग सम्झौता नवीकरण गरेको छ । नेपालको एक मात्रै एएफसी लाइसेन्स प्राप्त त्रिभुवन आर्मी फुटबल क्लबले यस सिजनका लागि प्रशिक्षक नवीनसँग सम्झौता नवीकरण गरेको हो ।
लिग उपविजेता आर्मी र प्रशिक्षक नवीन दुबै यस सिजन सहकार्य गर्न तयार भएका हुन् । ‘यस सिजनका लागि आर्मीसँग सम्झौता भइसकेको छ । क्लबसँगै रहन्छु ।’ ए लाइसेन्स प्राप्त प्रशिक्षक नवीन न्यौपानेले न्युज कारखानासँग भने । उनले जुलाईबाट सुरु हुने गरी एक वर्षका लागि सम्झौता गरेका हुन् ।
गत सिजन आर्मीलाई लिगको अन्तिम खेलमा उपाधि दिलाउने प्रयासमा रहेका नवीन अन्तिम खेलमा मछिन्द्रसँग १–० गोल अन्तरले पराजित हुँदा प्रशिक्षकको रुपमा पहिलो लिग उपाधिबाट बञ्चित रहेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले २९ कात्तिक २९ बाट ए डिभिजन लिग सञ्चालन गर्दैछ । यतिबेला खेलाडी र प्रशिक्षक भित्राउन सहभागी १४ क्लबहरुको होडबाजी चलिरहेको छ । नवीनले आर्मी टोली छाड्ने हल्लासमेत बजारमा थियो । केही समय पारिवारिक र कोरोनाका कारण अस्वस्थ रहेका नवीन आर्मी छोड्ने आफूले निर्णय नलिएको बताउँदै अर्काे थप एक बर्ष आर्मीमै रहने बताए ।
‘मैले आर्मीसँग प्रत्येक बर्ष सम्झौता नवीकरण गर्ने कुरा गरेको छु । एक एक वर्षमा नवीकरण गर्छु । यसपटक समेत एक वर्षका लागि सम्झौता गरेको छु,’ उनले भने ।
यसपटकसमेत नवीन आर्मीलाई गत सिजन लिगमा गरेका गल्तीको सुधार गर्दै उपाधि जिताउनकै लागि टोली तयारी गर्ने बताउँछन् । ‘अन्तिम खेलमा पराजित हुँदा पहिलो पटक लिग उपाधि हात पार्नबाट बञ्चित भयौं । त्यहाँ गरिएका कमीकमजोरीलाई सुधार गर्दै लिग उपाधि होडमा जान्छौं,’ ०७२ यता टच लाइनमा रहँदै आएका प्रशिक्षक नवीनले भने ।
यस सिजनका लागि आर्मीले नयाँ खेलाडीमा गौतम श्रेष्ठलाई जावलाखेलबाट झिकाएको छ । राष्ट्रिय टोलीका डिफेन्डर गौतमसहित आर्मीले आफ्नै गणका नयाँ तथा क्षमतावान खेलाडीलाई अवसर दिने योजनामा छ । गौतमले एएफसी कप छनोटमा आर्मीबाट खेलिसकेका छन् ।
‘नयाँ खेलाडी भनेर त्यस्तो कोही छैन । गौतम छ । आर्मीकै गणहरुबाट क्षमतावान नयाँ खेलाडी ल्याउने योजना छौं,’ प्रशिक्षक नवीनले नयाँ खेलाडीको विषयमा भने ।
नक्साल युवा मण्डलबाट आफ्नो व्यावसायिक फुटबल सुरु गरेका नवीनले करिब आधा दशकभन्दा बढी मनाङ मस्र्याङ्दी क्लबबाट खेलेका थिए । डिफेन्स लाइनमा पोख्त नवीनले ०६२ मा मनाङ छाडेर न्युरोड टिम (एनआरटी), हिमालयन शेर्पा हुँदै पुनः मनाङमा पुनरागमन गरेका थिए ।
एन्फाले ०७२ सालमा खेलाडी नवीनलाई कारबाही गरेसँगै उनले प्रशिक्षकको रुपमा आफूलाई स्थापित गरेका हुन् । तत्कालीन समय ‘बी’ लाइसेन्स रहेका नवीनले मनाङलाई कम्बोडियामा भएको एएफसी कपमा प्रशिक्षण गराएका थिए । मुख्य प्रशिक्षक हरिओम श्रेष्ठसँग ‘सी’ लाइसेन्स हुँदा नवीनलाई त्यो अवसर आएको थियो ।
‘ए’ लाइसेन्स गरेयता नवीनले दुई सिजन आर्मीलाई प्रशिक्षण दिइसकेका छन् । पहिलोपटक बिना रेलिगेसनको लिगमा आर्मी चौथो स्थानमा रहँदा पछिल्लो लिगमा आर्मी दोस्रो स्थानमा रहेको थियो ।
गत लिगमा आर्मी उपविजेता हुँदा १३ मध्ये नाै खेल जितेको थियो भने दुई खेल बराबरी खेल्दा दुई खेलमा हार बेहोरेको थियो । यस्तै त्यसअघिको बिना रेलिगेसन लिगमा आर्मीले चौथो स्थान हासिल गर्दा सात जित, दुई हार तथा चार बराबरी खेलेको थियो ।
समग्रमा नविनले आर्मीलाई ए डिभिजन लिगमा २६ खेल खेलाउँदा १६ जित, चार हार तथा ६ खेलमा बराबरको नतिजा दिएका छन् ।
गत सिजनझै आर्मीमा यस सिजन पनि कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, सन्तोष तामाङ, विकेश कुथु, विकास खवास, सेसेहाङ आङ्देम्बे, विकास तामाङ, टेकबहादुर बुढाथोकी, टंक बस्नेत, दिनेश हेम्जन, सुमन अर्याल, सुदिल राई लगायतका चर्चित र भरपर्दा खेलाडी हुनेछन् ।
जेठमा समाप्त भएको पहिलो फ्रेन्चाईज सुपर लिगमा नवीनले पोखरा थण्डर्स हेर्ने जिम्बेवारी पाएका थिए । तर कोरोनाका कारण नविन टोलीसँग कुनै पनि समय रहन सकेनन् । न्यूजकारखानाबाट












































