काशीलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार
मकवानपुर । मकवानपुरका पत्रकार शिवकुमार रिजाल काशीलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
प्रेस काउन्सिल नेपालले आज बुधबार एक विज्ञप्ति जारी गर्दै पत्रकार काशीलाई यस वर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गर्ने जानकारी दिएको हो । प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पत्रकार काशी सहित अरु ११ जना पत्रकार पनि पुरस्कृत हुने जनाइएको छ । आगामी असोज ६ गते प्रेस काउन्सिल नेपालको वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भन्डारीबाट पत्रकार काशीले पुरस्कार प्राप्त गर्नेछन् ।
वि.सं.२०४१ साल साउन २७ गते मकवानपुरको कालिकाटार गाविस २, मकवानपुर (हाल कैलाश गाउँपालिका वडा नं ३ टकुवा मकवानपुर) मा जन्मिएका पत्रकार काशीले सामुदायिक भित्तेपत्रिका, साहित्यिक पत्रिका हुँदै २०५८ सालमा बलिदान साप्ताहिक र प्रभातकालीन दैनिकबाट पत्रकारिता सुरुवात गरेका हुन् ।
पत्रकारिता बिषयमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका काशी हाल गोरखापत्र दैनिकका हेटौँडा समाचारदाता, रेडियो मनहरी एफएमका स्टेशन म्यानेजर, थाहादर्शन साप्ताहिक र मनहरीलाइभ डटकमको सम्पादकको भूमिकामा रहेका छन् ।
उनले पत्रकारिता आरम्भदेखि हालसम्म राष्ट्रिय समाचार समिति, अभियान राष्ट्रिय दैनिक, हिमाल पाक्षिक, दृष्य नेपाल पाक्षिक, नेपाल साप्ताहिक, जन आस्था साप्ताहिक, खुलामञ्च पाक्षिक, प्रतीक दैनिक, हैटौँडा सन्देश दैनिक, अभ्यास दैनिक, नारायणी एफएम, मनकामना एफएममा कार्य गरेको अनुभव छ । ग्रामीण सञ्चारको उद्देश्यले प्रकाशन गरिएको जूनकीरी मासिक खबरपत्रिकाको समेत सम्पादन गरेका छन् ।
पत्रकार काशीले नेपाल प्रेस इन्स्टिच्युटले प्रदान गर्ने चार हप्ते आधारभूत पत्रकारिता र अन्तरवार्ता क्षमता विकास तालिमसहित अन्य बिषयगत तालिमहरु प्राप्त गरी सामाजिक बिषयहरुमा निरन्तर कमल चलाइरहेका छन् ।
यस्तै, काउन्सिलले वार्षिकोत्सवका अजसरमा यस बर्षको गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतीक’ लाई प्रदान गर्ने निर्णय गरेको छ । काउन्सिलले आचारसंहिता पुरस्कार, सशक्त संचारकर्मी पुरस्कार, भाषागत पत्रकारिता पुरस्कार, क्रियाशील पत्रकारिता पुरस्कार, युवा पत्रकारिता लगायतका पुरस्कार प्राप्त गर्ने पत्रकारको नाम सार्वजनिक गरेको हो ।













































