को बन्ला माधव नेपालको पार्टीमा महासचिव ?

लोकखबर
२०७८ आश्विन ७, बिहीबार १०:४१

मकवानपुर । माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी ले बिहीबार पार्टीको महासचिव र चुनाव चिन्ह टुंगो लगाउने भएको छ ।
गत भदौ ९ गते निर्वाचन आयोगबाट आधिकारिक रुपमा पार्टीको मान्यता पाएपछि पहिलो पटक मंगलबारबाट जारी सो पार्टीको केन्द्रीय कमिटी बैठकले माहासचिव र चुनाव चिन्हसहित स्थायी कमिटी सदस्य, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरुको टुंगो लगाउन लागेको हो ।
एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ । केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने छ ।
यीमध्ये महासचिवको टुंगो लगाएर बैठक बिहीबारै समापन गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।
बुधबारको बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेकाले आजको बैठकले महासचिवसहित नेताहरुको जिम्मेवारी तोक्ने तयारी भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
सो पार्टीको महासचिवका लागि स्थायी समिति सदस्य डा। बेदुराम भुसाल, मुकुन्द न्यौपाने तथा नेताहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र डा। विजय पौडेललगायत आकांक्षीका रुपमा देखिएका छन् । आकांक्षीमध्ये डा। भुसालको सम्भावना बढी रहेको नेताहरुको भनाइ छ ।
आकांक्षा हुनु स्वभाविक हो । तर अहिलेको अवस्थामा डा। भुसालको सम्भावना बलियो छ’, एक केन्द्रीय सदस्यले भने, ‘अनुभव, सैद्धान्तिक, बैचारिक पाटोको सवै हिसावले पनि भुसालजीमा सहमति हुनसक्छ ।’
महासचिवका आकांक्षी धेरै भएपछि सहमति खोज्न नेताहरुबीच बिहीबार बिहानैबाट आन्तरिक छलफल भइरहेको छ । बुद्धनगरस्थित क्वालिटी वैंकेटमा ११ बजे बस्ने केन्द्रीय कमिटी बैठक अगावै सहमति जुटाएर नेताहरु बैठकमा आउनेगरी छलफल भइरहेको एक नेताले जानकारी दिए । रातोपाटी डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको