मनहरी, राक्सिराङ र कैलाशका गाँजा बोक्ने ७ जना भरिया पक्राउ

लोकखबर
५ बैशाख २०८१, बुधबार ११:२२

मकवानपुर । मकवानपुरबाट गाँजा बोकेर भारततर्फ गइरहेको अवस्थामा पर्सा राष्ट्रिय निकुन्जका कर्मचारी र निकुन्जमा खटिएका नेपाली सेनाले बुधबार बिहान एक सय ५० केजी गाँजासहित ७ जना गाँजा भरियालाई पक्राउ गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट बोकेर नेवारपानीको बाटो पार गर्दै गर्दा मनहरी गाउँपालिकास्थित मध्यवर्ती क्षेत्रमा पर्ने माथिल्लो मसिनेबाट ती ७ जना पक्राउ परेका हुन् ।

गाँजासहित पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका—३ का सुरेश चेपाङ, राक्सिराङ—७ का १९ वर्षीय टीकाराम चेपाङ, कैलाश गाउँपालिका—४ का २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय हरिकुमार चेपाङ, कैलाश गाउँपालिकाकै २७ वर्षीय वीरमान चेपाङ, मनहरी गाउँपालिका—४ का ४४ वर्षीय रामहरी लुईंटेल र मनहरी गापा—५ का ३६ वर्षीय दीपक थापा मगर रहेका छन् । हातमा लाइट र पिठ्युमा गाँजाको बोरा बोकेर हिँडेकालाई निकुन्जका टोलीले घेरा हालेर नियन्त्रणमा लिएका थिए ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरू भरिया रहेको पत्ता लगाएको छ । राक्सिराङ गाउँपालिकाको सरिखेतबाट तस्करले गाँजा खरिद गरेर उनीहरुलाई नेपाल भारतको सिमानामा पर्ने स्वर्णपूर गाउँमा पुर्‍याउन प्रतिकेजी १ हजार रुपैयाँ ज्याला दिएको पक्राउ परेकाले प्रहरी समक्ष बताएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*