प्रकाशकीयः

अझ सुदृढ हुने प्रतिज्ञा

लोकखबर
१६ माघ २०८१, बुधबार २०:१२

२०७५ माघ १६ गते सहिद दिवसको अवसरमा सुरु गरिएको ‘लोकखबर डटकम’ बुधबार सातौं वर्षमा प्रवेश गरेको छ । सुरुवाती दिनदेखि नै ‘सकारात्मक सूचनाको संवाहक’ नाराका साथ अगाडि बढ्दै आएको यस अनलाइन पत्रिका आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध छ ।

हाम्रो सञ्चारयात्रा पक्कै पनि सहज थिएन । अनलाइन पत्रकारिताको तीव्र प्रतिस्पर्धा, सूचनाको सत्यता र विश्वसनीयतामा अडिग रहने संकल्पका साथ तथा प्रविधिलाई पछ्याउँदै अघि बढ्ने चुनौतीको शिरोपर गर्दै लोकखबरको कर्म जारी छ । पाठक, दर्शक, स्रोताहरुको विश्वास र सहयोगकै कारण हामी आज यस स्थानमा आइपुगेका हौँ ।

हाम्रो देशमा डिजिटल मिडियाको पहुँच अहिले तीव्र रूपमा बढ्दै गइरहेको छ । विशेष गरी मोबाइल प्रविधिको विकाससँगै अनलाइन पोर्टलहरू लोकप्रिय बन्दै गएका छन् । तर, गलत सूचनाको प्रवाह, भ्रामक समाचार तथा पत्रकारिताको मूल मर्म विपरित व्यवसायिक स्वार्थहरू हावी हुने प्रवृत्तिले प्रेस स्वतन्त्रता र विश्वसनीयतामाथि चुनौती खडा गरिरहेको छ । यस्तै परिस्थितिमा ‘लोकखबर’ले सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने आफ्नो अभियानलाई आत्मसात गर्दै आएको छ ।

आगामी दिनमा ‘लोकखबर डटकम’ले अझै डिजिटल प्रविधिलाई प्रभावकारी रूपमा आत्मसात गर्दै गुणस्तरीय सामग्री उत्पादनमा जोड दिनेछ । तथ्यमा आधारित अनुसन्धानात्मक समाचार, भिडियो रिपोर्टिङ, विविध विश्लेषणात्मक सामग्री तथा पाठकहरूसँग प्रत्यक्ष अन्तरक्रियालाई प्राथमिकता दिँदै अघि बढ्ने हाम्रो सोच छ । यो सोचमा यहाँहरुको सहयोग प्राप्त हुन सकेको खण्डमा यसले योजनाको रुप ग्रहण गर्नेछ र हाम्रो सार्थक यात्राको अर्को सृङ्खला सुरु हुनेछ । अनलाइन पत्रकारिताको यो आधुनिक समाजमा टिकिरहँन विशेषगरी आर्थिक स्रोत अपरिहार्य छ । यसमा निरन्तर साथ, सहयोग प्राप्त हुँदै गएको खण्डमा हामी हाम्रो लक्ष्य र योजना अनुसार अगाडि बढ्न पक्कै पनि सफल हुनेछौँ । यो यात्रासम्म आइपुग्न ज-जसले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो, उहाँहरु सबैप्रति हार्दिक आभार । भविष्यमा पनि आपसमा सहकार्यका हातहरु निरन्तर मिलाइनेछ भन्नेमा विश्वास लिएका छौँ ।

वार्षिकोत्सवको यस अवसरमा हामी हाम्रा पाठक, शुभचिन्तक, विज्ञापनदाता तथा सम्पूर्ण सहयोगीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि ‘लोकखबर’लाई अझ सुदृढ हुने प्रतिज्ञा गर्दछौं । सबैप्रति आभार तथा धन्यवाद ।

शिव प्रसाद चौलागाईँ
प्रकाशक तथा सम्पादक
१६ माघ २०८१

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*