साझा पत्रकारिताका कुरा

राष्ट्रिय बहस र नागरिकका मुद्दामा कम प्राथमिकता
सरोज कोइराला
२०८२ बैशाख २६, शुक्रबार ००:४९

वैशाख २४ गते दशौँ राष्ट्रिय पत्रकारिता दिवस । गत १९५८ सालमा यहि दिन अर्थात वैशाख २४ गतेदेखि गोरखापत्र साप्ताहिक रुपमा प्रकाशन प्रारम्भ भएको थियो । सोही दिनको स्मरणमा २०७३ सालदेखि सरकारले यो दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएपछि मनाइँदै आएको हो ।

त्यस बेला राणाशासन थियो । तसर्थ नेपालीपत्रकारिता शासनसत्ताको वरिपरि घुम्नुपर्ने बाध्यता थियो । तर, नेपाली पत्रकारिताले परम्परागत यो बिरासतलाई अहिले पनि बिसाउन सकेको छैन । पञ्चायतकाल त परको कुरा । प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रको यो कालमा समेत पत्रकारिता शासनसत्ता वरिपरि नै घुमिरहेको छ ।

राजनीतिक दल र नेताका प्रचार साधन जस्तो । राष्ट्रिय बहस र नागरिकका मुद्दाले कम प्राथमिकता पाएका छन्, आम गुनासो वढ्दो छ । त्यसैले नागरिक र पत्रकारिताबीच खाडल बढ्दैछ । पत्रकारिता र नेपाली सञ्चारमाध्यमले भोगिरहेको साझा संकटको जग यहि हो ।

निष्पक्ष भनिए पनि पत्रकारिता सत्यतथ्यको पक्षपाति हुन्छ । एकपक्षको सत्य अर्को पक्षलाई ग्राह्य नहुन सक्छ । त्यसैले सन्तुलन यसको मेरुदण्ड हो । विविध कारणले यहांसम्म आइपुग्दा यो मेरुदण्ड पनि भाँचिएको छ ।

अहिले नेपाली पत्रकारिताका दुई मुख्य भार छनः १. सत्यतथ्यमा आधारित सन्तुलित पत्रकारितालाई पुनस्र्थापित गर्ने  २. राष्ट्रियताका सवालमा पक्षपाति हुने ।
पत्रकारका चाहिँ मुख्य तीन कार्यभार छनः १. साँच्चैको पत्रकारिता गर्ने  २. दलालकारिता छोड्ने या  ३. पत्रकारिता नै छोड्ने ।

साच्चिकै पत्रकारिता, पेशाभन्दा माथि हुन्छ ।
पत्रकारिता, रोजगारीभन्दा माथि हुन्छ ।
पत्रकारिता, विश्वासभन्दा माथि हुन्छ ।
पत्रकारिता, विचारसहित विचारभन्दा माथि हुन्छ ।
पत्रकारिता, सम्मान र पुरस्कारभन्दा माथि हुन्छ ।
पत्रकारिता, भिडभन्दा माथि हुन्छ ।
पत्रकारिता, चर्चा र लोकप्रियताभन्दा माथि हुन्छ ।
पत्रकारिता, मानवताको पक्षमा हुन्छ ।
पत्रकारिता, न्यायको पक्षमा हुन्छ ।
पत्रकारिता, कानूनी शासनको पक्षमा हुन्छ ।
पत्रकारिता, सुशासनको पक्षमा हुन्छ ।
पत्रकारिता, सत्यतथ्यको पक्षमा हुन्छ ।
अनि, पत्रकारिता, देश र जनताको स्वतन्त्रताको पक्षमा हुन्छ ।

यसर्थ, सम्बन्धित सबैमा दशौँ राष्ट्रिय पत्रकारिता दिवसको हार्दिक मंगलमय शुभकामनासहित वास्तविक र जनताका लागि पत्रकारिता वचाऔं, इमान्दारिताको खडेरी हटाऔं ।
(नोटः प्रस्तुतकर्ता डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितामा आवद्ध छन् । )


सर्वाधिक रुचाइएको