एकसय ८० किसानले पाए दुधमा अनुदान
दुध डेरीमै पुगेर जनप्रतिनिधिहरुले नगद हस्तान्तरण गरे
विदुर–नुवाकोटको विदुर नगरपालिकाले दुग्ध उत्पादक किसानहरुलाई प्रोत्साहनका लागि अनुदान वितरण गरेको छ । नियमित रुपमा दुध उत्पादन गरिरहेका किसानहरुलाई स्थानीय तहमार्फत दुध उत्पादक किसान प्रवद्र्धन कार्यक्रमअन्र्तगत उनीहरुले विक्री गरिरहेको दुध डेरीमै पुगेर अनुदान रकम हस्तान्तरण गरिएको हो ।
वागमति प्रदेश सरकारले उपलव्ध गराएको सो कार्यक्रमअन्तर्गतको दुधको अनुदान रकम बिदुर नपाले चालु आव २०८१÷०८२ अन्र्तगत हस्तान्तरण गरेको हो । यस वर्ष विभिन्न नौ वटा दुध डेरीमा नियमित रुपमा दुध विक्रि गरिरहेका एकसय ८० जना ग्रामीण किसानहरुलाई दुध उत्पादनमा प्रोत्साहन गराउने उद्धेश्यले अनुदान वापतको रकम वितरण गरिएको हो ।

विदुर नगरपालिकाले स्थानीय कृषकहरूलाई नियमित रुपमा दुध उत्पादनमा प्रोत्साहन गराउने उद्देश्यले प्रोत्साहन रकम हस्तान्तरण गरेको हो । ‘किसानलाई दुधमा प्रोत्साहन कार्यक्रम’ अन्तर्गत दैनिक कम्तिमा १० लिटर भन्दा माथि परिमाणको दूध नजिकको डेरीमा बिक्री गर्ने कृषकहरूलाई प्रति लिटर ३ रुपैयाँ ५० पैसाका दरले प्रोत्साहन रकम हस्तान्तरण गरेको हो ।
विदुर नपाले यस कार्यक्रमको लागि किसानले दैनिक रुपमा विक्री गरिरहेको दुध डेरीमै पुगेर अनुदान रकम हस्तान्तरण गरेको हो । विदुर नपाको विभिन्न स्थानमा रहेका नौ वटा डेरी सप्लायर्समा नियमित दुध विक्रि गरिरहेका दुध विक्रेता कृषकहरूलाई यस वर्षको अनुदान रकम हस्तान्तरण गरिसकिएको हो ।
विदुर नपाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटी, सम्वन्धित वडाका वडाध्यक्षहरुले दुध डेरीमै पुगेर अनुदान वापत प्राप्त रकम किसानलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने विदुर नपाले जनाएको छ । 

मेयर राजन श्रेष्ठले विदुर नपाले किसानलाई प्रोत्साहन गर्न सुरु गरेको उल्लेख गर्दै किसान संरक्षणका अन्य कार्यक्रमसमेत सन्चालन गरिरहेको वताए । उनले कार्यक्रमलाई सदैव किसानका हितका लागि अग्रसर गरिने प्रतिवद्धता जनाए ।
अनुदान रकम हस्तान्तरण कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा वोगटीले स्वास्थ्यका लागि दुग्धजन्य पदार्थ लाभदायक रहेको कारण यसको विकास र विस्तारका लागि नपाले विशेष योजना वनाएको वताइन् । अनुदान हस्तान्तरण कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, सम्वन्धित वडाका वडाध्यक्षहरु, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले किसानको हितमा स्थानीय, प्रदेश र संघीयसरकारले विभिन्न कार्यक्रमहरु सन्चालन गरिरहेको र यसलाई नियमित गरिनु पर्नेमा जोड दिए ।
सोही क्रममा विदुर नपाका जनप्रतिनिधि तथा कर्मचारीले स्थानीय सरोकारवाला र लाभग्राही कृषकहरूसँग दुध उत्पादन, बजार व्यवस्थापन र वर्तमान समस्याहरूका विषयमा अन्र्तक्रियासमेत गरेका थिए । ’उत्पादन दूधमा प्रोत्साहन कार्यक्रम’ अन्र्तगत विदुर नपामार्फत पहिलो चरणमा दुई महिनाको अबधि (पुस–माघ) मा लिइएको तथ्याङ्कको आधारमा दैनिक कम्तिमा १० लिटर दूध बिक्रि वितरण गरिरहेका किसानहरुलाई प्रदान गरिएको हो । 

अनुदानबाट दुग्ध व्यवसायमा संलग्न कृषकहरूको मनोबल उच्च भएकोे र उत्पादनमा थप सुधार हुने पशु चिकित्सक सुजाता अधिकारीको भनाई छ । किसानहरुलाई गत पुस र माघ महिनामा संकलित दुधको तथ्याङ्कका आधारमा अनुदान रकम वितरण गरिएको हो ।
विदुर नपामा रहेका विभिन्न नौ वटा डेरीमा आवद्ध किसानहरुले यस वर्ष दुधको अनुदान रकम प्राप्त गरेका हुन् । यसवाट किसानहरु उत्साहित भएको विदुर नपाले जनाएको छ ।










































