लोकप्रिय हुदै राजु माष्टरको ‘सकस’

विदुर–चर्चित हास्य कलाकार राजु पौडेल उर्फ राजु माष्टरले कला क्षेत्रमा विभिन्न भुमिका गरिरहेका छन् । हास्य, सामाजिक तथा पारिवारिक कथामा विषय पस्कन सिपालु निर्देशक तथा कलाकार राजु माष्टरले अभिनय गरेको ‘गोथे’ पात्र उनकै सकस सामाजिक सिरियलमा देख्न पाइनेछ ।
राजुले ‘जुठे’ मा आफ्नो यात्रा टुङ्गिएपछि ‘गोथे’ पात्रलाई आफ्नै सामाजिक सिरियल ‘सकस’मा मुख्य पात्रको स्थान दिएका हुन् । लामो समय ‘जुठे सिरियल’बाट दर्शकमाझ पहिचान बनाएको ‘गोथे’ पात्रलाई अब ‘सकस’ सिरियलमा हेर्न पाइने भएको हो ।
‘सकस’लाई राजुले नै लेखन तथा निर्देशन गर्दै आएका छन् । उनकै अर्को लोकप्रिय पात्र ‘गोथे’लाई पनि सकस कै मुख्य कथामा राखिएको राजु माष्टरले बताए ।
‘जुठे’मा गोथेलाई देख्न नपाएपछि धेरै दर्शकको चाहना हर्न पाउनु पर्ने भन्ने पनि भयो । भगवानरुपी दशर्कहरुको यो मायालाई मध्यनजर गर्दै मैले सकसमा गोथे ल्याउने निर्णय गरेको हुँ ।’
उनले अगाडि भने, ‘सकसमा यसअघि मैले गरेका अन्य पात्र यथावत रहनेछन् भने गोथेलाई पनि कथामा मिलाएर नै निरन्तरता दिनेछु ।’ गोथेलाई ९४ औं भागबाट सकसमा देख्न पाइने उनले बताए ।
उनी यतिबेला आफ्नो टिमसहित पर्यटकिय नगरी पोखरामा यसको छायांकन गरिरहेका छन् । यसमा पोखराका केही कलाकासमेत जोडिएको उनले बताए ।
चर्चित ‘सकस’ मंगलबार र शनिबार हिमालय टिभी र मास्टर टिभी नामक युट्युब च्यानलमा आउने गरेको छ । ‘जुठे’ सिरियलपछि ‘गोथे’ पात्रलाई ‘सकस’ सिरियलमा मुख्य भूमिका दिइएको छ ।
आफ्नो सामाजिक सिरियलमा नुवाकोट र रसुवालगायतका स्थान पनि उपयुक्त हुनसक्ने राजुले वताए । उनले भने छिट्टै लोकेसन हेर्न नुवाकोट र रसुवा पनि जानेछौं ।