फोटोग्राफी तथा भिडियो पत्रकारिता तालिम

– सहभागीहरुलाई प्रमाणपत्र प्रदान
लोकखवर मनोरन्जन संवाददाता
२०८३ श्रावण १८, सोमबार ००:२८

बिदुर – आधुनिक प्रविधिका साथ दक्ष जनशक्ति उतपादन गर्ने उद्धेश्यले सन्चालित “फोटोग्राफी तथा फोटो/भिडियो पत्रकारिता तालिम” सम्पन्न भएको छ । तालिमका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित एक महिने उक्त तालिम आइतवार सम्पन्न भएको हो ।

सहभागीहरुलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनीता डंगोलले संयसक्र रुपमा प्रमाणपत्र प्रदान गरे । वोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र उद्योगको विकासमा दक्ष प्राविधिक जनशक्ति उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै पत्रकार, फोटोपत्रकार तथा दृश्य सञ्चारकर्मीहरूको व्यवसायिक क्षमता अभिवृद्धिका लागि यस प्रकारको प्रयोगात्मक तालिम प्रदान गरिएको वताए । आगामी दिनमा पनि निरन्तरता दिइने बताउंदै उनले चलचित्र निर्माणसँगै प्रचार–प्रसार, अभिलेखीकरण र चलचित्रसम्बन्धि समाचार सम्प्रेषणमा दक्ष जनशक्तिको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी नेपाली चलचित्र उद्योगलाई थप सशक्त बनाउन प्रशिक्षार्थीहरूलाई आग्रह गरे । बोर्डले चलचित्र क्षेत्रका विभिन्न विधामा आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । काठमाडौं महानगरकी कावा मेयर सुनीता डंगोलले दक्षता प्रवद्र्धनका लागि प्रदान गरिएको यस प्रकारको तालिम उपलव्धिपुर्ण रहेको वताइन् ।

सीपमूलक तालिमले युवाहरूलाई रोजगारी तथा स्वरोजगारतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउंदै काठमाडौं महानगरले विभिन्न निकायसँगको सहकार्यमा युवाहरूको क्षमता विकास र आत्मनिर्भरता अभिवृद्धिका लागि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको वताइन् । उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई काठमाडौंका पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रभावकारी प्रवद्र्धनमा उपयोग गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गरिन् । उनले तालिमका प्रमुख प्रशिक्षकहरू राजभाइ सुवाल, प्रदीपराज वन्त, श्रीधर पौडेल, ओमलाल अकेला र राजन महर्जनलाई प्रशंसापत्र प्रदान गरिन् ।

तालिममा ३५ जना प्रशिक्षार्थी सहभागी थिए । सोही अवसरमा नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पु¥याएका नेपालका पहिलो स्टिल फोटोग्राफर मञ्जुकुमार श्रेष्ठ तथा वरिष्ठ चलचित्र प्रचार सामग्री (फिल्म पोस्टर) डिजाइनर सुन्दर श्रेष्ठलाई जनही ३५ हजार रुपैया राशिको सम्मान पुरस्कार प्रदान गरिएको थियो । चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रमा पहिलोपटक ’स्थिर फोटोग्राफी’ तथा ’चलचित्रका प्रचार सामग्री डिजाइन’ विद्यामा पु¥याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरेको जनाएको छ । काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा सञ्चालन गरिएको उक्त एक महिने तालिममा फोटोग्राफी, फोटो–भिडियो पत्रकारिता, क्यामेरा सञ्चालन, फोटो सम्पादन, दृश्य कथावाचन, समाचार प्रस्तुति तथा चलचित्र क्षेत्रसँग सम्बन्धित व्यावहारिक विषयमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको थियो ।

 


सर्वाधिक रुचाइएको