साततले दरवार राष्ट्रिय संग्रहालयको पुर्ननिर्माण सुरु

विदुर–पुर्ननिर्माणको पर्खाइमा रहेको नुवाकोटको प्रसिद्ध साततले दरवार राष्ट्रिय संग्रहालयको पुर्ननिर्माण सुरु भएको छ । पुर्ननिर्माणका लागि क्षतिग्रस्त संरचनाहरु हटाउन सुरु गरिएको छ ।
१० वर्ष अगाडिको ‘विनासकारी भूकम्प’ले क्षतिग्रस्त वनाएपछि उक्त संग्रहालय वन्द गरिएको थियो । भुकम्प अघि विदेशी, विद्यार्थी तथा सर्वसाधारणले दैनिक रुपमा उक्त दरवार भित्रै पसेर अवलोकन गर्ने गरेका थिए ।
भुकम्पको एक दशक वितेपछि दरवार पुर्ननिर्माणको लागी जीर्ण संरचना आइतवारदेखि हटाउन सुुरु गरिएको हो । दुर्गरत्न नाम रहेकोे साततले दरबार राष्ट्रिय संग्रहालयको जीर्ण संरचना भत्काउन सुरु गरिएको हो ।
चिनियाँ कम्पनी ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ मार्फत पुर्ननिर्माण भइरहेको विदुर नगरपालिका २ स्थित नुवाकोट टाकुरोमा रहेको उक्त दरबारको पुर्ननिर्माण अगाडिको पूर्वतयारीको प्राविधिक काम सम्पन्न भएकाले दरबारको जीर्ण संरचना भत्काउन सुरु गरिएको हो । यससंगै दरवारको पुर्ननिर्माण सुनिश्चित भएको जनाउंदै नुवाकोटवासी निकै खुसी भएका छन् ।
साततले दरबारको क्षतिग्रस्त संरचना हटाउनु अगाडि विदुर नपाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटी, जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, डिभिजन वन कार्यालयका प्रमुख रोशना पोखरेल, विदुर २ का वडाध्यक्ष दीपक कायस्थ, अन्य वडाका जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरुसहित सरोकारवालाहरुलाई दरवारको क्षतिग्रस्त स्थानको जानकारी गराई साततले दरबारको छानाबाट भत्काउन सुरु गरिएको हो । भुकम्पले क्षति पु¥याउंदा उक्त दरवार निकै जीर्ण भई वन्द भएको छ ।
दरवार सन्चालन भएका वेला त्यहा रहेको संग्रहालय भ्रमण गर्न आउनेहरुवाट शुल्क राजश्वसमेत संकलन हुदै आएकोमा अहिले ठप्प भएको छ । उक्त दरवार गत १८१६ सालमा पृथवीनारायण शाहको सेनाद्वारा निर्माण गरिएको जनाइएको छ ।
चिनियाँ कम्पनी मार्फत पुनर्निर्माण भइरहेको दरबारको पुर्ननिर्माण अघिको पूर्व तयारीको प्राविधिक काम सम्पन्न भएकाले जीण संरचना भत्काउन सुरु गरिएको मेयर राजन श्रेष्ठको भनाई छ । दरबारको छाना हटाएर क्षतिग्रस्त भाग भत्काउन सुरु गरिएको उनले वताए ।
दरबार पुनर्निर्माणको क्रममा पुर्ननिर्माण, प्रबलीकरण के गर्ने भन्ने सम्बन्धमा दरबार भत्काउँदै गएपछि मात्र स्पष्ट हुने जानकारी चिनियाँ पक्षले गराएको मेयर श्रेष्ठले जानकारी दिए । हाल प्राविधिक अध्ययन अनुसार दरबारको जगदेखि तेस्रो तलासम्मको संरचना सुरक्षित रहेको पाइएको छ ।
यद्यपि, दरबार भत्काउँदै जाने क्रममा गरिने प्राविधिक अध्ययन पश्चात् दरबारलाई पूरै भत्काइने अथवा क्षतिग्रस्त तलाहरू हटाएर सोही स्थानबाट निर्माण सुरु गरिने निर्णय लिइने मेयर श्रेष्ठको भनाई छ । भूकम्पपछिको पुनर्निर्माणको क्रममा चिनियाँ सहयोग अन्तरगत चिनियाँ निर्माण कम्पनी ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ मार्फत नुवाकोटको प्रसिद्ध साततले दरबार, तुलजा भवानीको मन्दिर सहित थप आठवटा संरचनाको पुनर्निर्माणका कार्य भइरहेको छन् ।
पुर्ननिर्माण अन्र्तगत भूकम्पले पूर्ण क्षति गरेको तलेजु भवानीको मन्दिरको संरचना भने पूरै भत्काएर सकिएको छ । अब सोही स्थानमा पहिलाको जस्तै नयाँ निर्माण गर्न थालिएको छ ।
साततले दरबार र तुलजा भवानीको मन्दिरको निर्माण आगामी २०८३ साल असोज महिना भित्र सम्पन्न गरेर हस्तान्तरण गर्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । बाँकी थप धार्मिक, साँस्कृतिक तथा पुरातात्त्विक संरचनाको निर्माण त्यसपछि अघि बढाइने समझदारी भएको छ ।