भारी वर्षात्को सम्भावना

विदुर–तीन दिनसम्म नुवाकोट आसपासमा भारी वर्षाको सम्भावना रहेको जनाउंदै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासनले आग्रह गरेको छ । सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले यहि असार १८ गते देखि असार २० गते शुक्रवारसम्म धेरै भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारणमा आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईद्वारा जारीे सार्वजनिक सूचनामा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट वुधवार जारी भएको मौसम पूर्वानुमान बुलेटिनका अनुसार नुवाकोटमासमेत यहि असार १८ गतेदेखि २० गतेसम्म भारी देखी धेरै भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन भनी अनुरोध भएकोले भारी वर्षाको कारण भूक्षय, बाढी, पहिरो जाने तथा खोला नालाहरुको बहाव बढ्न गई दैनिक जनजीवनमा समेत प्रभाव पर्न सक्ने हुँदा जोखिमयुक्त स्थान, खोला, खोल्सा, खहरे नजिक रहेकाहरुले उच्च सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरिएको उल्लेख छ ।
यसका साथै रातको समयमा सकेसम्म सवारीसाधान सञ्चालन नगर्न र गर्ने परे आवश्यक सावधानी अपनाउँदै सञ्चालन गर्न पनि आग्रह गरिएको छ । पहाडि भुवनोट रहेको नुवाकोटमा भूक्षय, बाढी, पहिरो जाने तथा खोला नालाहरुको बहाव बढ्ने स्थानहरु रहेका छन् ।