सडक, पुल र विद्युत् संरचनामा ठुलो क्षति
विदुर–लेन्दे खोलामा आएको बाढीका कारण सडक, पुल र विद्युत् संरचनामा ठुलो क्षति पुगेको छ भने जनजीवनसमेत प्रभावित भएको छ । सुरक्षाकर्मीले बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

घटनास्थलमा उद्धारमा खटिएको टोलीले थप बेपत्ता नागरिकको खोजी जारी राखेको छ । अवस्था जटिल रहेकाले क्षतिको पूर्ण विवरण आउन अझै केही समय लाग्ने रसुवा प्रशासनले जनाएको छ ।

नेपाल–चीन सिमानास्थित लेन्दे खोलामा मंगलबार बिहान ३ बजे आएको भीषण बाढीले ठूलो क्षति पु¥याएपछि कूटनीतिज्ञसहित सरकारको उच्च अधिकारीहरूको जम्बो टोली रसुवागढी पुगेको हो । चीनको ल्हेन्दे खोलामा आएको बाढीले नेपालतर्फ भीषण रुप लिँदा रसुवागढी र चीनको केरूङ जोड्ने पक्कि मितेरी पुल नै बगाएको हो ।

दर्जनौं गाडी वगायो, धेरै क्षति
बाढीले रसुवा भन्सार कार्यालय टिमुरेको नजिकै रहेका २३ थान कन्टेनर, ३५ थान विद्युतीय गाडी, सिनो ट्रक ६ थानसहित रसुवा भन्सार कार्यालयको यार्डमा भन्सार जांचपासका लागि राखिएका केहि ट्रक, कन्टेनर, विद्युतीय गाडी, मालवाहक कन्टेनर बगाएको सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीको भनाई छ । उनका अनुसार वाढीले गाडीका चालक, तीन प्रहरीसहित नेपाली र ६ चिनियाँ गरी २० जनालाई बाढीले बगाएर बेपत्ता बनाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीमा बगेर वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको वागमति प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले जानकारी दिए । उनका अनुसार नुवाकोट, रसुवा र धादिङ हुदै वहने त्रिशूली नदीमा चार वटा मृत शरिरको भाग तथा चार वटा हात, खुट्टा फेला परेका छन् ।

फेला परेका मानव अंगहरुको अनुसन्धान भइरहेको छ । वेपत्ताको खोजी तथा उद्धारमा नुवाकोट, रसुवा, धादिङ र चितवनमा एकहजार वढि प्रहरी परिचालन भएको डिआईजी पौडेलले वताए ।

ति जिल्लाहरुमा खोज तथा उद्धारका लागि पांचसय सशस्त्र प्रहरी परिचालन भएको सशस्त्र प्रहरीका डिआइजी अन्जनीकुमार पोखरेलले वताए । वेपत्ताहरुको खोजीमा सेनाको टोलीसमेत जुटेको छ ।
विहानैदेखि सेनाको दुई र निजी क्षेत्रकासमेत गरि चार थान हेलिकप्टर वाढीग्रस्त स्थानमा परिचालन भएका छन् । चार महिला ५१ पुरुषसमेत गरि बाढीमा फसेका ५५ जनाको मंगलवार वेलुकीसम्म सुरक्षाकर्मीले हेलिकप्टर तथा स्थलगत रुपमा उद्धार गरिएको रसुवा प्रशासनले जनाएको छ ।

वेपत्ता भएकाहरुमा तीन जना नेपाल प्रहरी, ६ जना चिनीया र वांकी कामदार तथा कन्टेनर चालक रहेका छन् । टिमुरेमा सुख्खा वन्दरगाह निर्माणका कामदार परेको जनाइएको छ ।
बाढीबाट रसुवाको गोसाइकुण्ड गाउँपालिकाका १, २ र ३, आमाछोदिङ्मो गाउँपालिकाका १, २, ४ र ५ उत्तरगया गाउँपालिकाका २, ४ र ५, कालिका गापा १ धेरै तथा विदुर नपाको केहि वडा आंशिक प्रभावित भएका छन् । रसुवाका सहायक प्रजिअ अधिकारीका अनुसार बाढीले ठूलो परिमाणमा भौतिक क्षति गरेको जानकारी आएकोमा क्षतिको मुल्यांकन गर्ने कार्य सुरु भएको छ ।











































