सयौं रोपनीमा अकवरे खुर्सानी
विदुर–किसानहरुको आयआर्जन वढाउने उद्धेशयले नुवाकोटको बेलकोटगढीमा अकबरे खुर्सानी खेती बिस्तार गरिएको छ । हावापानी सुहाउंदो वेलकोटगढी नपाका किसानहरूले व्यवसायिक रूपमा सयौ रोपनी जमिनमा अकबरे खुर्सानी खेती गरेका छन् ।

बेलकोटगढी नपाको १३ वटै वडामा अकबरे खुर्सानी खेती विस्तार गरिएको हो । पालिकाले सो नपाले अनुदान र प्राविधिक सहयोगसहित किसानलाई अकबरे खुर्सानी खेतीमा प्रोत्साहन गरेको मेयर जगतवहादुर गुरुङको भनाई छ ।
बेलकोटगढी नपाले ७५ प्रतिशत अनुदानमा खुर्सानीको बिरुवा वितरण गरेसंगै यसले प्रवद्र्धन पाएको हो । हाल व्यवसायिक अकबरे खुर्सानी खेति बिभिन्न वडामा गरिएको छ ।

बेलकोटगढी नपाले चालु आर्थिक बर्ष २०८१/०८२ को बार्षिक स्वीकृत कृषि प्रवद्र्धन कार्यक्रमअनुसार ७५ प्रतिशत अनुदानमा अकबरे खुर्सानीको एक लाख १२ हजार विरुवा कृषि फर्म, समूह र सहकारी मार्फत कृषकहरुलाई उपलब्ध गराएको थियो । १३ वटै वडामा व्यवसायीक अकबरे खेती गर्न प्रोत्साहन गरिएको थियो ।
कार्यक्रम अनुरुप हाल उत्पादन दिन सुरु गरेको छ । यसबाट सो भेगका किसानले लाखौं आम्दानी गर्ने अपेक्षा गरिएको मेयर जगतवहादुर गुरुङको भनाई छ ।
आधुनिक प्रबिधिको प्रयोगमा मल्चिङ प्रयोग गर्दै अकबरे खुर्सानी खेति गरिएको हो । उपमेयर शिवप्रसाद दाहालले यस कार्यक्रमले कृषकहरूलाई आर्थिक रूपमा सशक्त बनाउने विश्वास व्यक्त गरे ।











































