त्रिशूली तीन जिल्लाको साझा अस्पतालको रुपमा विकसित 

– डा. विश्वकर्मा उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत 
लोकखवर विशेष संवाददाता
२०८२ श्रावण ११, आईतवार २१:०९

बिदुर–६ दशक अगाडि नुवाकोटको त्रिशूलीस्थित वाघटारमा स्थापित नुवाकोट जिल्ला अस्पताल त्रिशूली यतिखेर तीन जिल्लाको विरामीको उपचार केन्द्रको रुपमा विकासित भएको छ । अस्पतालमा दैनिक सयौं विरामीहरु उपचारका लागि पुग्ने गरेका छन् ।

विदुर नपा ९ मा रहेको त्रिशूली अस्पतालमा आधुनिक उपकरण र पर्याप्त जनशक्ति रहेका कारण सेवाग्राहीहरुको भीड वढिरहेको छ । अस्पतालका निमित्त निर्देशक डा. राजेन्द्र लामाका अनुसार अस्पतालमा नुवाकोट, रसुवा र धादिङका उत्तरी भेगका सर्वसाधारणको उपचार हुंदै आइरहेको छ ।
अस्पतालको ६१ औं वार्षिकोत्सवका अवसरमा बागमती प्रदेशकै उत्कृष्ट अस्पतालको रुपमा अस्पतालले विरामीहरुको उपचार गरिरहेको जनाएको छ ।  अस्पतालमा सिटिस्कान, डायोलोसिसलगायतका विविध उपकरणहरुमार्फत विरामीहरुको उपचार गरिदै आएको अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीले वताए ।
अस्पतालमा रहेको सिटिस्कान मेसिनमार्फत मानव शरीरका भित्री अङ्गका रोग तथा चोटपटक जानकारी लिन  अत्ति नै महत्वपूर्ण रहेको सिटीस्क्यान उपकरणले मस्तिष्क, टाउको, घाँटी, छाती, पेट, आन्द्रा, कलेजो, फोक्सो, नसा लगायत शरीरका रोगको पहिचानको लागि प्रभावकारी रहेकोे निर्देशक डा. लामाले जानकारी दिए  । त्रिशूली अस्पतालमा आकस्मिक र वहिरंग गरि दैनिक पांचसय जना वढिको उपचार हुंदै आएको छ ।
त्रिशूली अस्पतालको ६१ औं वार्षिकोत्सवको उद्घाटन गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले त्रिशूली अस्पताललाई अझै थप परिष्कृत गर्न विदुर नपाले विविध सहयोग गर्ने प्रतिवद्धता जनाए । अस्पतालको  वार्षिकोत्सव तथा विविध सांस्कृतिक कार्यक्रममा मेयर श्रेष्ठले जिल्ला अस्पताल त्रिशूलीलाई प्रभावकारी वनाउन आवस्यक कार्य अगाडि बढाउने आश्वासन दिए ।
श्रेष्ठले त्रिशूली अस्पतालमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि नपाले उच्च प्राथमिकता दिने पनि वताए । उनले अगाडि भने, “उपचार सेवा नै नपाएर ज्यानै जाने अवस्था विरामीहरुमा अब आउँदैन ।
मेयर श्रेष्ठले भने, ‘हुँदा खाने वर्गको पहुँचको रुपमा यो अस्पताललाई बनाइने छ । त्यसका लागि विदुर नपाले आवस्यक पहल  कार्य गर्ने छ ।’
विदुर नपाकी उपमेयर प्रभा वोगटीले अस्पताललाई थप प्रभावकारी, व्यवस्थितका साथै प्रयोगशाला, कर्मचारी र चिकित्सकलाई सुव्यवस्थित बनाउन आग्रह गरिन् । उनले त्रिशूली अस्पताललाई आवश्यक जनशक्ति र बजेट व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा सहभागी वक्ताहरुले अस्पतालभित्र राजनीति नगरी बिरामीको उपचारका लागि सबै एकजुट भएर लाग्न आग्रह गरे । उनीहरुले अस्पतालको विकास र प्रवद्र्धनका लागि जुनसुकै कार्य गर्ने वताए ।
त्रिशूली अस्पतालमा नुवाकोट, रसुवा र धादिङको उत्तरी भेगकासमेत गरि दैनिक ३ सयदेखि ४ सय बिरामी उपचार गर्न आउँने त्रिशूली अस्पतालले जनाएको छ ।  अस्पतालमा स्थायी दरवन्दी थप्न र स्थायी चिकित्सकको खाँचो रहेको जनाइएको छ ।
कार्यक्रममा छिमेकी धादिङ अस्पतालका प्रमुख डा. गगन अधिकारी, रसुवा अस्पतालका प्रमुख डा. अच्युत पौडेल, त्रिशूली अस्पतालका पुर्व अध्यक्ष पारस अधिकारी, अस्पतालकी सदस्य अन्जली पाण्डेलगायतले स्वास्थ्य सेवाको पहुच र प्रभावकारीताको सम्वन्धमा चर्चा गरेका थिए । त्रिशूली जलविद्युत गृह निर्माणमा खटिएका नेपाल–भारतका कामदारहरुको उपचारका लागि २०२० सालमा स्थापित स्वाथ्य उपचार केन्द्र नै हालको जिल्ला अस्पताल हो ।
शल्यक्रियासहित आकस्मिक र वरिरंग विभागअन्र्तगत विरामीहरुको उपचार हुंदै आइरहेको छ । त्रिशूली अस्पतालमा महत्वपुर्ण रुपमा सेवा गरेको जनाउंदै अस्पतालमा कार्य गरेको वर्षभरिको मुल्यांकन गरि एक जना कर्मचारीलाई वर्षको उत्कृष्ट कर्मचारीका रुपमा सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
अस्पतालका मेडिकल अफिसर इन्चार्ज डा. कैलाश विश्वकर्मालाई नगद १० हजार रुपैयाका साथ अस्पतालका तर्फवाट प्रमुख अतिथी विदुर नपाका मेयर राजन श्रेष्ठले सम्मान तथा पुरस्कृत गरे । कार्यक्रममा सहभागीहरले अस्पतालले उपकरण र जनशक्तिको सदुपयोग गरेर विरामीहरुलाई प्रभावकारी रुपमा उपचार गर्नुपर्नेमा जोड दिए ।
अस्पतालको वार्षिकोत्सवका रुपमा साताव्यापी रुपमा सन्चालित विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको छ भने ६ दशक अगाडि २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत केन्द्रका निर्माणमा खटिएका कर्मचारीहरूको स्वास्थ्य उपचारका लागि खोलिएको साधारण स्वास्थ्य केन्द्रको विकसित रूप नै त्रिशूली अस्पताल हो ।


सर्वाधिक रुचाइएको