वर्षातमा सचेत रहन सर्वसाधारणलाई आग्रह

– प्रशासन र विदुर नपाले ग¥यो सचेत
लोकखबर
२०८२ श्रावण १२, सोमबार २३:४४

विदुर–चीनको केरुङमा अविरल वर्षात् भएका कारण लेन्दे खोला हुदै वहने त्रिशूली नदी किनारामा रहेका आम सर्वसाधारण बासिन्दालाई सचेत रहन प्रशासन तथा स्थानीय तहले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोट र विदुर नगरपालिकाले सोमवार सचेत गराएको हो ।
छिमेकी चीनको केरुङमा लगातार भारी वर्षात् भइरहेको भन्दै नुवाकोट प्रशासनले त्रिशूली नदीको बहाव बढ्ने सम्भावना रहेको जनाउंदै सचेत रहन आग्रह गरेको हो । प्रशासनले नदी किनाराका बासिन्दालाई सावधानी अपनाउन, अनावस्यक नदी आसपास हिडडुल नगर्न, साना बालबालिकालाई नदी नजिक जान नदिन, रातको समयमा नदी छेउतिर नजान र जोखिम क्षेत्रका नागरिकहरूलाई सतर्कता अपनाउन अपिल गरेको छ ।

विदुर नगरपालिकाले पनि सावधानी अपनाउन सूचित गरेको छ । विदुर नपाले चीनको केरुङ्गमा भारी बर्षात्का कारण बाढी आउन सक्ने जानकारी प्राप्त भएको हुँदा विदुर नगर क्षेत्र तथा त्रिशूली नदी आसपासका नदी किनारा बेत्रावती, सोले, तुप्चे, भैसे, १ नं पुल, शुभघाट, सिल्ट्याङ्की, बिजुरा, इन्द्रेणीचौर, त्रिशूलीबजार, ढुङ्गे, सिमचौर, सिचाई, चण्डीपोखरी, बुहुनीबेसी, देवीघाट, सिर्खाली, बाँङ्गीवगर, ढोडीनी, मैरीटारमा बसोबास गर्ने बासिन्दालाई सम्भावित जोखिमको आकलन गरि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसका साथै तारकेश्वर गापा, उत्तरगया गापाको कार्यालय तथा विभिन्न सरोकारवाला निकायहरुले त्रिशूली नदी आसपासका किनारामा रहेका सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ । उक्त भेगका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

उता, जिल्ला प्रशासन कार्यालय रसुवाले पनि केरुङमा भारी बर्षात्का कारण लेन्दे खोला हुदै वहने त्रिशूली नदीको वहाव बढीरहेकाले नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । आम सर्वसाधारणलाई नदीको नजिक नजान, बालबालिका र पशु चौपाया सुरक्षित स्थानमा राख्न र सम्भावित जोखिमको आकलन गरि उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।


सर्वाधिक रुचाइएको