साउनको अन्तिम सोमवार दुप्चेश्वरमा हजारौं भक्तजन
– एकैदिन झण्डै सांढे चार लाख भेटी संकलन
बिदुर–हिन्दुहरुको आराध्य देव भगवान शिवको विशेष पुजा आराधना गर्ने विशेष महिनाको रुपमा साउन महिनालाई लिने गरिन्छ । यहि साउन महिनामा व्रत वसेर भगवान शिवको महिमा गाउनुका साथै विशेष भक्ति दर्शन गर्ने परम्परा चलिआएको छ ।

नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिरमा साउनको अन्तिम अर्थात् चौथो सोमवार हजारौं भक्तजनहरुले पुजापाठ तथा दर्शन गरेका छन् । प्रसिद्ध दुप्चेश्वर हिन्दु तथा वौद्धमार्गीको सामूहिक तीर्थस्थलको रुपमा विकसित भइरहेको छ ।
मन्दिरमा दैनिक हजारौं भक्तजनहरु पुग्नुले पनि यस विषयको पुष्टि गरेको छ । एकैदिन लाखौं रुपैया भक्तजनहरुले भेटी चढाउंदै आएका छन् ।

दुप्चेश्वर धाममा आन्तरिक तथा वाह्य भक्तजनहरुकोसमेत आगमन भइरहेको छ । नेपाल, भारत, भुटान, वर्मालगायतका स्थानमा चर्चा कमाइसकेको दुप्चेश्वर मन्दिरमा दैनिक रुपमा असंख्य भक्तजनहरु आउने क्रमसमेत वढिरहेको स्थानीयवासीको भनाई छ ।

पशुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायतको पहुंच र सहजतासंगै भक्तजनहरु आउने क्रमसमेत वढिरहेको छ । आकर्षक करेजुङ पहराको सितल र चिसो स्थानमा रहेको दुप्चेश्वरमा गाइको दुध तथा पशुचौपायाको दाम्लो चढाउनेसमेत गरिन्छ ।
सो मन्दिरमा काठमाडौ तथा सदरमकुाम विदुरदेखि यातायातको सहजता रहेको छ । दुप्चेश्वर गाउँपालिका–६ रामती नजिकै करेजुङको ठुलो पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा साउनको चौथो सोमवार मात्र एकैदिन झण्डै १५ हजार भक्तजनले दुप्चेश्वरको दर्शन र पुजाआजा गरेका छन् ।

दुप्चेश्वर धाममा दर्शन गर्नेहरुको लाइन वेलुकीसम्म नै लागेको थियो । दुप्चेश्वरमा सोमवार भक्तजनहरुले चढाएको झण्डै सांढे चार लाख रुपैया भेटि संकलन भएको छ ।
भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । यातायात र सुलभ वाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो ।

उक्त स्थानमा पुग्न नुवाकोटको विदुरवाट यातायातमा डेढ घण्टा र काठमाडौवाट दुई घण्टामा पुग्न सकिन्छ । हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरु आउने क्रममा वढोत्तरी भएसंगै भेटी सङ्कलन कार्य पनि वढिरहेको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ ।

प्रसिद्ध दुप्चेश्वर धाममा जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ भने सो मन्दिरमा हिन्दु तथा वौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् । दुप्चेश्वरमा सोमवार १५ हजार जनाले मन्दिर पुगेर पुजाआजा गरेका छन् ।
जसमध्ये ६० प्रतिशत महिला रहेका थिए । नौ घण्टासम्म मन्दिर दर्शन गर्नका लागि भक्तजनहरु लाइन लागेको थियो ।

दुप्चेश्वर धाममा छिमेकी मुलुक भारतवाटसमेत र्तार्थालु आउने गरेका छन् । दुप्चेश्वरमा साउनको चोथो सोमबार चारलाख ३१ हजार २० रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मन्दिरमा सन्ध्या आरतीको दुई लाख ९२ हजार ६ सय २० हजार रुपैया भेटी संकलन भएको छ । मन्दिरमा राखिएको क्युआर कोडमार्फत १ हजार पांचसय रुपैया भेटी संकलन भएको छ ।

दुप्चेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे सामूहिक रुपमा गणना गर्ने कार्य भइरहेको छ । कोषाध्यक्ष श्रेष्ठका अनुसार पछिल्लो दुई वर्षदेखि दुप्चेश्वर मन्दिरमा आउने भक्तजनको उपस्थिती वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय समुन्द्रटार क्रियाशील रहेको बताए ।

दुप्चेश्वर धाममा दर्शन गर्नका लागि आउने श्रद्धालु भक्तजनहरु मध्ये अपांगता भएका तथा ज्येष्ठ नागरिकहरूको लागि सहज र सुरक्षित रुपमा विशेष बैकल्पिक मार्गको व्यवस्था गरिएको छ । दुप्चेश्वरमा आएकाहरुलाई पुजाआजा र महादेवको शिला दर्शनमा कुनै बाधा नहोस् भन्ने उद्देश्यले, नजिकैको भजन मण्डलीमा सम्पर्क गरी वैकल्पिक मार्ग प्रयोगको अनुमति तथा सहजीकरणकोे व्यवस्था गरिएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

उक्त व्यवस्थामार्फत सबै वर्ग र अवस्था भएका भक्तजनले दुप्चेश्वर महादेवको दर्शन गर्न सकुन् भन्ने उद्धेश्य रहेको कोषाध्यक्ष श्रेष्ठको भनाई छ । दुप्चेश्वर धाम जान सर्वसाधारणले गाडी रिजर्भ गर्नुका साथै निजी गाडी र मोटरसाइकलमासमेत पुग्ने गरेका छन् ।











































