लम्पी स्किन विरुद्धको खोप अभियान सुरु

१४ हजार पशुलाई खोप लगाइने
देवचन्द्र भट्ट
२०८२ भाद्र १, आईतवार २२:१७

बिदुर–लम्पी स्किन रोगविरुद्ध नुवाकोटमा खोप अभियान सन्चालन गरिएको छ । साताव्यापी अभियानमा १४ हजार पशुचौपायालाई खोप लगाउन सुरु गरिएको छ ।
पशु सेवा कार्यालय नुवाकोटले गाई, भैसी, चौंरी तथा याकलाई लक्ष्यित गरेर आइतवारदेखि सप्ताहव्यापी रुपमा लम्पी स्किन विरुद्ध खोप अभियान सुरु गरिएको कार्यालय प्रमुख डा. निशान्तकुमार शर्मागेलालले जानकारी दिए । उनका अनुसार अभियानका लागि ८३ जना भ्याक्सिनेटर नियुक्त भई परिचालन गरिएका छन् ।

बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छि मन्त्रालयले लम्पी स्किन रोगविरुद्ध नुवाकोट, रसुवासहित वागमति प्रदेशभर सप्ताहव्यापी खोप अभियान सुरु गरेको हो । उक्त खोप केन्द्रीय पशु सेवा विभागमार्फत उपलव्ध भएको हो ।
कार्यालयले नुवाकोटमा रहेका १२ स्थानीय तहलाई लम्पी स्किन रोगविरुद्ध खोप प्रदान गरिसकेको छ । डा. शर्मागेलालका अनुसार विदुर र वेलकोटगढी नगरपालिकालाई एक/एक हजार र गाउंपालिकालाई आठ/आठ सय डोज खोप उपलव्ध गराइएको छ ।

६ महिना उमेर भन्दा वढिका गाई, भैसी, चौंरी तथा याकलाई लक्ष्यित गरेर उक्त खोप लगाउन सुरु गरिएको हो । सात दिनको अवधिमा उक्त पशुप न्हरुलाई खोप लगाएर नसकिए समय थप गरिने कार्यालय प्रमुख डा. निशान्तकुमार शर्मागेलालले जानकारी दिए ।
नुवाकोटसंगै जोडिएको हिमाली रसुवालाई पनि पशु सेवा कायाृलय नुवाकोटले लम्पी स्किन विरुद्धको खोप प्रदान गरेको छ । भ्याक्सिनेटरले पशुचौपाया पालिएका घरगोठमै पुगेर खोप लगाइरहेका छन् ।

लम्पी स्किन रोगविरुद्ध खोप लगाउनका लागि नुवाकोटमा ५९ जना र छिमेकी रसुवामा २४ जना भ्याक्सिनेटर परिचालित गरिएका छन् । उनीहरुले भ्याक्सिन लगाएको प्रति डोज २० रुपैया पारिश्रमिक पाउनेछन् ।
यसवाट विशेष गरि पशुचौपाया गाई, भैंसीपालक किसानहरु लाभान्वित हुने जनाइएको छ । नुवाकोट र रसुवासहित बागमती प्रदेशका १३ वटै जिल्लामा एकैपटक खोप अभियान सन्चालन गरिएको हो ।

लम्पी स्किन रोग लागेका पशुमा उच्च ज्वरो आउने, मुख तथा नाकको भित्री भागमा घाउहरू देखिने, खुट्टाको जोर्नीहरू सुन्निने, पशुका शरीरको छालामा ५० मिलिमिटर सम्मको गोलो गाँठाहरू देखा पर्ने, ती गाँठाहरू फुटेर घाउमा परिणत हुने लक्षणहरू देखिने पशु चिकित्सक डा. केशव खरेलले वताए । उनका अनुसार लम्पी स्किन रोग लागेमा पशुको दूध उत्पादन २५ देखि ६५ प्रतिशतसम्म घट्ने गरेको छ ।


सर्वाधिक रुचाइएको