रसुवागढीमा भीषण पहिरो

– एक जना घाइते, आवतजावत ठप्प
लोकखबर
२०८२ भाद्र १५, आईतवार १२:५५

बिदुर–नेपाल–चीन प्रवेशको छोटो दुरीको रसुवागढी नाकामा भीषण पहिरो गएको छ । एक जना घाइते भएका छन् भने आवतजावत ठप्प भएको छ ।

चीनसंग सिमा जोडिएको रसुवागढीमा आइतवार सडकमाथिवाट भीषण पहिरो खसेको हो । पहिरोले सडकमार्ग पुरेको छ । पहिरोका कारण पर्साको विश्रामपुर ४ का १९ वर्षिय विनयदास थारु घाइते भएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।
उनका अनुसार घाइते थारुलाई उद्धार गरि प्राथमिक उपचार गरि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
ग्यारेजमा रोजगारीका सिलसिलामा सिमावर्ति क्षेत्र टिमुरे बस्दै आएका थारु पहिरोको समयमा रसुवागढी पैदल यात्रा गरिरहेका थिए । उनको टाउको, कान र गर्धनमा चोट लागेको प्रहरीले जनाएको छ ।
अविरल बर्षाको कारण गोसाईकुण्ड गाउँपालिका २  रसुवागढीमा एकसय मिटर आखसपासमा ढुंगासहितको सानाठुला पहिरो गएको प्रहरीले जनाएको छ । रसुवागढीमा निर्माणाधीन नेपालको भन्सारलगायतका संरचना  नजिकै पहिरो गएको हो ।
चीनतर्फको लेन्देखोला हुदै रसुवागढीमा गत असार १४ र साउन १४ गते आएको भीषण वाढीले गरेको क्षतिको घाउ नसुक्दै फेरी रसुवागढीमा पहिरो गएको स्थानीयवासीले वताए । माथिवाट खसेको पहिरोले सडक पुरेका कारण पैदलयात्री हिड्नसमेत ठप्प भएको स्थानीयको भनाई छ ।
पहिरोका कारण भन्सार निर्माण कार्य अवरुद्ध भएको र आसपासमा थप क्षतिको जोखिम रहेको प्रत्यक्षदर्शीहरुले वताएका छन् । रसुवागढी नाका स्याफ्रुवेशी वजारदेखि १५ दशमलव पांच किलोमिटर दुरीमा रहेको छ ।


सर्वाधिक रुचाइएको