अधिवक्तावाट अध्यापक हुदै देशकै कार्यकारी अधिकारमा कार्की

बिदुर– नेपालकै पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान कायम गरेकी छन् । यसअघि, देशको महत्वपुर्ण पद प्रधान न्यायाधिष हुने पहिलो महिलामा इतिहास वनाएकी कार्कीले आफ्नो इतिहासमा अर्को किर्तिमान कायम गरेकी छन् ।
सर्वोच्च अदालतकोे पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी नवनियुक्त प्रधानमन्त्री कार्की देशको पहिलो महिला कार्यकारी प्रमुख बन्न सफल भएकी हुन् । अधिवक्ता, अध्यापक हुदै उनी प्रधान न्यायाधिष र त्यसको आठ वर्षपछि प्रधानमन्त्रि नियुक्त भएकी हुन् ।
जेनजी समूहको आन्दोलनको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा गरिएको माग र आकांक्षा बमोजिम राजनीतिक दल र सरोकारवालासँगको परामर्शमा कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् । कार्कीले नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी थिइन् ।
प्रधानन्याधीशबाट अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला सरकार प्रमुखको इतिहास पनि रचेकी हुन् । न्यायपालिकामा रहँदा हक्की र इमान्दार स्वभावका कारण उनी चर्चामा आएकी हुन् ।
प्रधानमन्त्री कार्कीको जन्म गत २००९ साल जेठ २५ गते मोरङको शङ्खरपुर–३ विराटनगरमा भएको हो । उनले महेन्द्र मोरङ कलेज विराटनगरबाट २०२८ सालमा बिए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरेकी छन् ।
२०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरी अधिवक्ताका रूपमा कार्कीले २०३५ साल चैत्र १६ गतेदेखि कानुन व्यवसाय सुरु गरेकी थिइन् । उनले २०४२ सालदेखि तीन वर्ष महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरेकी थिइन् ।
कार्कीले गत २०४५ सालदेखि २०४७ सालसम्म कोशी अञ्चल बारको अध्यक्ष तथा २०५९ साल देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष रहेर कार्यसम्पादन गरेकाी थिइन् । गत २०६१ साल पुस ५ गते उनले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेकी थिइन् ।
त्यस्तै, २०६५ माघ ९ गते उनी सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी थिइन् । कार्की गत २०६७ साल मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश भइन् ।
हालसम्म उनले संयुक्त राज्य अमेरिका, बेलायत, श्रीलङ्का, जापान, चीन, भारत, तान्जिनिया र नेदरल्याण्डलगायत देशको भ्रमण गरिसकेकी छन् । प्रधानमन्त्रि कार्की नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा निपुण छिन् ।
निडर स्वभाव र सरल जीवनशैली उनको पहिचान हो । उनले प्रधानन्यायाधीशका रूपमा १४ महिना जिम्मेवारी सम्हालेकी थिइन् ।
प्रतिनिधिसभा विघटनः
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गरेका छन् । राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११ बजेदेखि लागू हुने गरी २०७९ सालमा निर्वाचित प्रतिनिधिसभाको विघटन गरेका हुन् ।
राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको छ । २०७९ सालमा गठन भएको प्रतिनिधिसभा राजनीतिमा आएको परिवर्तनसँगै आफ्नो कार्यकाल पूरा नगरी विघटन भएको हो ।
भारतद्वारा स्वागतः
नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा छिमेकी मुलुक भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार राती अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, “हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ ।”
भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ । यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिनुभएको छ ।
भारतका प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै यो शुभकामना दिएका हुन् ।