कानून विपरितका कार्य नगर्न प्रशासनको चेतावनी
निर्धारित भाडादर मात्र तिर्न आग्रह
बिदुर– चाडपर्वको समयमा कानून विपरितका कार्य नगर्न नुवाकोट प्रशासनले चेतावनी दिएको छ । कानूनले प्रतिवन्ध गरेका कार्यहरु गरेको पाइएमा कारवाही गरिने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

वडादशैंमा सभ्य र भव्य रुपमा चाडपर्व मनाउन आग्रह गर्दै सहायक प्रमुख जिल्ला अधिकारी कृष्णपव्रसाद हुमागाइद्वारा शुक्रवार हस्ताक्षरित अनुरोध पत्रमा चाडपर्वको समयमा शन्ति सुरक्षामा असर पर्ने गतिविधि नगर्न चेतावनी दिइएको छ । सार्वजनिक स्थलमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरि पारिवारिक तथा सामाजिक जनजीवन, सामाजिक मर्यादा र शान्ति खलल हुने गतिविधि नगर्न अनुरोध गरिएको छ ।

यसका साथै कानून विपरितका गतिविधिहरु जुवातास, लंगुरवुर्जा खेलाउने, भुइचम्पा, पटका, आतसवाजीलगायत विपद जोखिम निम्ताउने तथा वातावरण प्रदुशण हुने विष्फोटक एवं प्रज्वलनशलि पदार्थको प्रयोग, ओसारपसार तथा विक्री गर्ने कार्य नगर्न नगराउन अनुरोध गरिएको सप्रजिअ हुमागाइको भनाई छ । प्रशासनले कानूनले निषेध गरेका गतिविधि गरेमा कानुन अनुसार नै कारवाही गरिने जनाएको छ ।

यात्रा गर्दा यात्रुहरुले तोकिएको भाडा दर मात्र तिरेर टिकट लिएर यात्रा गर्ने, ट्राफिक नियमको पालना गर्ने, वजारमा दैनिक उपभोग्य वस्तुको मुल्य, गुणस्तरियता तथा म्यादको सम्वन्धमा सचेत भएर खरिद विक्रि गर्नु नुवाकोट प्रशासनले अनुरोध गरेको छ । यसका साथै कानून विपरितका जुनसुकै गतिविधि भएको पाइए नजिकको प्रहरी कार्यालय अर्थात् जिलला प्रशासन कार्यालयमा उजुरी गर्न आग्रह गरिएको छ ।












































