विदुरमा उपभोग्य सामग्रीको वजार अनुगमन
बिदुर- चाडपर्वमा उपभोक्ताको गुनासो आएपछि नुवाकोटको बिदुरमा वजार अनुगमन गरिएको छ । दैनिक उपभोग्य प्रकृतिका विभिन्न पसलहरु अनुगमन गरिएको हो ।
विदुर नगरपालिकाले चाडपर्वमा दैनिक उपभोग्य सामग्रीको गुणस्तरियतामा उपभोक्ताको गुनासो आएपछि विभिन्न वजार पुगेर स्थलगत रुपमा अनुगमन गरेको हो । चार वटा वजारमा छड्के अनुगमन गरिएको विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ ।

उनका अनुसार उपभोक्तामुखी सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ अनुगमन समितिले नियमित रूपमा बजार निरीक्षण तथा अनुगमन कार्य गर्दै आएको छ । विदुर नपा वजार अनुगमन समितिले विदुर नपा १ ढुङ्गे र त्रिशूली बजार, विदुर नपा २ को बट्टारबजार, विदुर ९ कोलोनी वजारका विभिन्न १८ वटा पसलहरूमा स्थलगत निरीक्षण तथा अनुगमन कार्य गरेको हो ।

जसमध्ये सात वटा किराना, खाद्यान्न तथा सप्लायर्स, चार वटा मासु पसल, दुई वटा माछा पसल, दुई वटा तरकारी तथा फलफुल पसल, एउटा होटेल, एउटा ग्यांस, एउटा दुध डेरी र एउटा कस्मेटिक पसल अनुगमन गरिएको अनुगमन समितिका संयोजक तथा विदुर १० का वडाध्यक्ष गणेशकुमार नेपालले जानकारी दिए । उनका अनुसारबजारमा बिक्री वितरण हुने खाद्यवस्तु तथा उपभोग्य सामग्रीहरूको गुणस्तर परीक्षण गर्ने, म्याद गुज्रिएका सामानको बिक्री रोकथाम गर्ने, मूल्यसूची, तौल तथा व्यवसाय दर्ता प्रमाणपत्रको अवस्था जाँच गर्ने, वडादशै पर्वलाई लक्ष्यित गर्दै वजार अनुगमन गरिएको र मापदण्ड अनुसार सन्चालन गर्न निर्देशन दिइएको हो ।

उपभोक्ताको हित सुनिश्चित गर्न र सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ बजार अनुगमनलाई निरन्तरता दिइएको विदुर नपाले जनाएको छ । सोही कार्यलाई निरन्तरता दिँदै समितिका पदाधिकारी तथा सदस्यहरूले बजार अनुगमन गरेका हुन् ।
उक्त अनुगमनवाट वडादशैँमा उपभोक्ताहरूले सर्वसुलभ मुल्यमा स्वच्छ, गुणस्तरीय र उचित मूल्यमा सामान खरिद गर्न पाउने विश्वास नपाले लिएको छ ।













































