जेनजी आन्दोलनमा नुवाकोटका तीन जनाको मृत्यु
बिदुर– जेनजी आन्दोलनमा घाइते नुवाकोटका थप एक जना युवकको उपचारको क्रममा मृत्यु भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा गम्भीर घाइते भएका पञ्चकन्या गाउँपालिका–२ माथिल्लो कठेरीका लक्ष्मण राईको उपचारको क्रममा मृत्यु भएको हो ।
राईको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनी आन्दोलनकै क्रममा गम्भीर घाइते भई राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए ।
उनको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरि अन्तिम संस्कार गरिएको छ । राईको निधनसँगै जेनजी आन्दोलनमा नुवाकोटका तीन जना युवकको मृत्यु भएको छ ।

भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका राईको निधन भएको हो । टाउकोको पछाडिको भागमा गोली लागेका उनी उपचाररत थिए ।
काठमाडौंको बालाजुमा वसेर ज्याला मजदुरी गर्दै आएका राई जेनजी आन्दोलनमा सहभागी भएका थिए । काठमाडौंको ट्रमा सेन्टरको आईसियुमा उपचाररत राईको आइतवार राति निधन भएको हो ।
उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाटमा जेनजी आन्दोलनका अगुवाहरू समेत पुगेका थिए ।
यसअघि जेननी आन्दोलनका क्रममा गोली लागेर नुवाकोटकै तादी गापा ३ का धिरज श्रेष्ठ र ककनी गापा १ का शुभराज बलामीश्रेष्ठको पनि ज्यान गएको थियो । यससँगै जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने नुवाकोटवासीको संख्या तीन जना पुगेको छ ।

नुवाकोट क्षेत्र नं. १ का तीनै जना प्रत्यक्ष रूपमा आन्दोलनमा संलग्न भएका थिए । स्थानीयवासी र सरोकारवालाले उनीहरूको बलिदानीलाई देशप्रतिको योगदानको रूपमा लिएका छन् ।











































