शक्तिपीठहरुमा महाअष्टमीमा भक्तजनहरुको घुंइचो
बिदुर- नुवाकोटका विभिन्न शक्तिपीठहरुमा महाअष्टमी पर्वको अवसरमा मंगलवार विशेष मेला लागेको छ । कतिपय शक्तिपीठहरुमा कालरात्री गरिएका छन् ।
सर्वसाधारणमा पशु अधिकारका सम्वन्धमा सचेतना, सामाजिक जागरणका कारण वडादशैंको क्रममा पहिलेको तुलनामा यसवर्ष नुवाकोटका विभिन्न शक्तिपीठहरुमा पशुवलि ५० प्रतिशतले घटेको छ । नुवाकोटको प्रसिद्ध जालपादेवी, भैरवी, निरञ्जना, पञ्चकन्यालगायतका मन्दिरहरुमा गत वर्षको तुलनामा पशुवलि निकै घटेको हो ।

पशुवलीको वदला सर्वसाधारणले नरिवल चढाउन थालेका छन् । पशुबलि दिनु उचित नहुने आवाज उठिरहेको बेला नुवाकोटका प्रमुख शक्तिपीठलगायतका मुख्य शक्तिपीठहरुमा वडादशैँको महाअष्टमीका अवसरमा दिने पशुबलिको संख्यामा वितेको १० वर्षको तुलनमा निकै कमी आएको मन्दिरका सम्वन्धित पुजारीहरु वताउंछन् ।

सर्वसाधारणले पशु अधिकारका पक्षमा सचेत हुंदै पशुको वदलामा नरिवललगायतका अन्य वस्तु विकल्पमा चढाउन थालेका कारण पशु वलि घटेको प्रसिद्ध भैरवी मन्दिरका द्वारे महेन्द्रकुमार शाहीले वताए । उनका अनुसार सर्वसाधारणले पशुवलिको सट्टामा नरिवललगायतका सामग्री चढाउन थालेका र पशु अधिकारको विषय उठिरहेको कारण पशुवलि दिने कार्य घटेका हुन् । मन्दिरमा पुजापाठ र दर्शन गर्नेहरु वढेपनि मन्दिरमा पशु वलि निकै घटेको स्थानीय युवा सामाजिक अगुवा महेन्द्रलाल श्रेष्ठको भनाई छ ।

उनका अनुसार विदुर नपा २ टाकुरोमा रहेको भैरवी मन्दिरमा पुजापाठ र दर्शन गर्नेहरु भने हजारौं पुगेका थिए । विभिन्न मन्दिरमा वर्षाैँदेखि संलग्न पुजारीहरुका अनुसार पछिल्ला एक दशकयता पशुबलिको सङ्ख्यामा कमी आएको छ । नुवाकोटको मुख्य भैरवी मन्दिरमा विगत ७४ वर्षदेखि पुजारी धामी भई काम गरिरहेका वृद्ध हरिमानसिह डंगोलका अनुसार हाल अधिकांश दर्शनार्थीले पशुबलिको सट्टा नरिवल चढाउने गरेका कारण पशु वलि घटेको हो ।

पशुबलि रोकिएको त छैन, कमि आएको छ । तर, पनि मानिसहरुले पशु वलिको वदला नरिवललगायतका समग्री चढाउन थालेका छन् ।
१५/१६ वर्ष अगाडिसम्म पनि वडादसैँको अवधिमा ६० वटाभन्दा बढी बोकाको बलि हुने गरेको थियो, अहिले सात/आठ वर्षदेखि पांच/दश वटामा सिमित भएको डंगोलले वताए । मानिसमा पशुबलि दिएर धर्म हुन्न भन्ने चेतना जागेर हो वा महँगीले हो, यसै भनेर ठोकुवा गर्न नसकिने धामी डंगोलले अगाडि भने– मानिसले पशुबलिमा कम विश्वास गर्न थालेका छन् ।
२००८ सालदेखि धामी भएर काम गरिरहेका ८४ वर्षिय डंगोल पहिले/पहिले बलि दिनेको ताँती लाग्ने गरेको अनुभव सुनाउँछन् । वलि दिनेको संख्यामा कमी आएपनि शक्तिपीठहरुमा पुजापाठ गर्नेहरुको संख्यामा भने वढोत्तरी आएको पुजारीहरुहरुको अनुभव रहेको छ ।

वडादशैंको अवसरमा फुलपाती, महाअष्टमी, महानवमी, दशमीलगायतका दिनमा नुवाकोटका विभिन्न शक्तिपीठहरुमा पशुवलि घटेको जालपादेवी मन्दिरका पुजामा सहयोगी शंकर चित्रकारले वताए । उनका अनुसार महाअष्टमीका दिन मंगलवार सो मन्दिरमा पशुवली दिनेको संख्या गत वर्षको तुलनमा ५० प्रतिशत घटेको छ ।
उनका अनुसार पहिलेको तुलनमा पशुवली दिने संस्कार घट्दै गइरहेको छ । पहिले पशुबलि दिनेहरु घण्टौंसम्म लाइनमा बस्नुपर्दथ्यो, पालो पाइनसक्नु हुन्थ्यो, अहिले पशु वलि दिने कार्यमा ५० प्रतिशत कमी आएको मन्दिरका पुजारीहरु वताउंछन् ।
पुराना दिन सम्झँदै जिलिङका वृद्ध कृष्णप्रसाद शर्मादाहालले भने–अहिले फाट्टफुट्ट मात्र बलि दिनेहरु मन्दिर गइरहेका हुन्छन् । पशुवलिको विषय संस्कृतिसंग जोडिन नहुने उनको तर्क छ ।
सायद परिवर्तित समयसँगै धर्मकर्ममा बलिप्रथा पनि परिवर्तन हुँदै आएको हुन सक्ने जालपादेवी मन्दिरमा परिवारसहित पुजापाठ गर्न पुगेकाहरुकोे भनाई छ । धार्मिक संरचनामा यसरी फरकपन आउन थालेकोमा संस्कृतिप्रेमी भने चिन्तित भएका छन् ।

जालपादेवी मन्दिरमा पुजापाठ तथा वलिमा संलग्न वृद्ध पुजारी रणवहादुर चित्रकार यस वर्ष महाअष्टमीको दिन मंगलवार वलि निकै घटेको वताए । उनका अनुसार यस वर्ष महाअष्टमीका दिन मन्दिरमा १० वटा वोका र ४५ वटा कुखुरा मात्र वलि दिइएको छ ।
सर्वसाधारणको भिड पनि मन्दिरहरुमा कमि आएको स्थानीयको भनाई छ । हालका पुस्ता धर्मकर्ममा आस्थावान देखिए पनि पशुबलि दिएर पुण्यप्राप्त हुन्छ भन्ने धारणा घट्दै गएकाले बलिको चलन पनि घटेको नुवाकोट सम्पदा संरक्षण मञ्चले जनाएको छ ।
भैरवी र जालपादेवी मन्दिरमा मात्र होइन, वेलकोटगढीको निरन्जना भगवति मन्दिरमा पनि पहिलेको तुलनामा बलि दिनेको सङ्ख्या घट्दै गएको पुजारी भोलाराज पौडेलको भनाई छ । नुवाकोटको अर्को प्रसिद्ध भैरवी मन्दिरमा वडादशैंका अवसरमा सरकारीतर्फवाट १७ वोका, १८ हांस र सात वटा रांगो वलि दिइएपनि सर्वसाधारणले भने वलि दिन छाडेको द्वारे महेन्द्रकुमार शाहीले वताए ।

उनले भैरवी मन्दिरमा कल्छेनीमार्फतको ६ वटा वोका सरकारले दिन छाडेको वताए । नुवाकोटको बेलकोट, बुधसिङ, तारुकालगायत स्थानका देवी मन्दिरमा पनि बलि दिने चलन घट्दै गएको छ ।
पशुबलिको सट्टा नरिवल चढाउनेको सङ्ख्या बढ्दै गएको नुवाकोट देवीघाटका कृष्णवहादुर कोइरालाको भनाई छ । यस्तै, नुवाकोटको पुर्वी भेगमा रहेको धार्मिक तथा ऐतिहासिक निरञ्जना भगवति मन्दिरमा यस वर्ष गत वर्षको भन्दा कम वलि दिइएको छ ।
शक्तिपीठहरुमा पशुवलि दिन वन्द गरिनु पर्ने आवाज उठिरहेको अवस्थामा वलिप्रथा घट्दै गएको स्थानीयवासी वताउंछन् । पहिले महाअष्टमीका दिन एक सय थान वोका वलि दिइने सो मन्दिरमा यस वर्ष वलि दिनेहरु निकै कमि भएको उपासे मानवहादुर रानामगरको भनाई छ ।

पशु अधिकारको संरक्षण गरि वलि दिने क्रम घट्दै गएको सर्वसाधारणको भनाई छ । हालका पुस्ता धर्मकर्ममा आस्थावान देखिए पनि पशुबलि दिएर पुण्यप्राप्त हुन्छ भन्ने धारणा घट्दै गएकाले बलिको चलन पनि घटेको जनाइएको छ ।
वडादशैंमा पुजापाठको कार्यमा वढोत्तरी भएपनि विभिन्न मठमन्दिरमा पशुवलि दिने पहिलेकोे परम्परामा वर्षेनी कमी हुदै आएको देवीघाट जालपा युवा क्लवका अध्यक्ष नवीन चित्रकारको भनाई छ । उनका अनुसार सर्वसाधारणले पनि पशुवलीको सट्टा नरिवल तथा अन्य सामग्रीहरु मन्दिरमा चढाउने क्रम वढेको छ ।












































