तीन दिन राती सवारी चलाउन रोक

– सतर्कता अपनाउन आग्रह
लोकखबर
२०८२ आश्विन १७, शुक्रबार २२:०१

बिदुर– भारीदेखि अति भारी वर्षात् हुने जल तथा मौसम विज्ञान विभागले जनाएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले तीन दिन रातीको समयमा यातायात नचलाउन आम सर्वसाधारणमा सचेत गराएको छ । तटीय क्षेत्रका साथै जोखिमयुक्त स्थानहरुमा उच्च सर्तकता अपनाउनसमेत आग्रह गरिएको छ ।
यहि असोज १७ देखि २० गतेसम्म नुवाकोटसहित देशका धेरै भूभागमा भारीदेखि अति भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरे अनुसार जिल्ला प्रशासन नुवाकोटले आम सवृसाधारणमा उच्च सतर्कता अपनाउन सचेत गराएको छ । यसका साथै विपदका लागि आवस्यक न्युनतम पुर्वाधार तयार गर्नेसमेत प्रशासनले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेद्वारा विज्ञप्तिमा जनाइएको छ ।
यहि असोज १८ देखि २० गतेसम्म नुवाकोटका मुख्य पासाङल्हामु मार्ग, गल्छी–देवीघाट–त्रिशूली, त्रिशूली–छहरे–टोखा सडकखण्ड तथा सहायक मार्गहरूमा सांझ ६ बजेदेखि बिहान ५ बजेसम्म जोखिमका कारण यात्रा नगर्न सूचित गरिएको छ । यसका साथै वाढी पहिरोको जोखिमयुक्त स्थानमा रहेकाहरु सुरक्षित स्थानमा वस्न आग्रह गरिएको छ ।
जोखिमको समयमा सवै सुरक्षा निकायहरु, हेभि इक्युपमेण्ट परिचालन गर्ने निकाय, स्थानीय तह, स्वास्थय संस्था, एम्वुलेन्स, विपद व्यवस्थापनमा संलग्न साझेदार संघ संस्था उच्च सर्तकतामा रहन सूचित गरिएको प्रजिअ घिमिरेले वताए । यसका साथै सरोकारवाला निकाय, जनप्रतिनिधि, सामाजिक संघसस्थाहरुसमेत तयारी अवस्थामा रहन सचेत गराइएको छ ।
प्रशासनको सूचना अनुसार, आगामी १८ देखि २० गतेसम्म जरुरी र अत्यावश्यक काम बाहेक यात्रामा ननिस्कन र साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रा नगर्न भनिएको छ  । यस क्रममा उच्च सतर्कता अपनाउन र बाढी पहिरोको जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा बस्न पनि अनुरोध गरिएको छ ।
यसका साथै, साथै तटीय क्षेत्रमा दाउरा, काठ संकलन गर्ने वा माछा मार्ने बहानामा जोखिमयुक्त स्थानमा नजान र विपद व्यवस्थापनमा संलग्न सबै सुरक्षा निकायहरूलाई उच्च सतर्कतासाथ तयारी अवस्थामा रहन आग्रह गरिएको छ । आपतकालीन कार्यसञ्चालन केन्द्र परिचालन गर्ने, स्वयम्सेवक परिचालन गर्ने र उद्धार–राहतका लागि स्रोत साधन तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।
 रातीको समयमा आकस्मिक दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक सवारी साधनबाहेक सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । वर्षाको मात्रा र जोखिमको स्तर अनुसार अन्य समयमा पनि आकस्मिक रूपमा सडकमार्ग बन्द गर्न सकिने जनाइएको छ ।
उता, नुवाकोटको छिमेकी रसुवामा पनि रातीको समय गाडी सनचालनमा रोक लगाइएको छ । रसुवामा शुक्रवार वेलुकीदेखि नै रातीको समयमा यातायात सन्चानलनमा रोक लगाइएको हो ।
यहि असोज १७ देखि २० गतेसम्म रसुवाका मुख्य पासाङल्हामु मार्ग, तथा सहायक मार्गहरूमा सांझ ६ बजेदेखि बिहान ५ बजेसम्म यातायात सन्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीद्वारा जारी सूचनामा जनाइएको छ । उनका अनुसार उक्त अवधिमा रातीको समयमा अत्यावस्यक वाहेकका यातायात सन्चालनमा रोक लगाइएको हो ।


सर्वाधिक रुचाइएको